पूर्वसचिव पत्नीलाई कामदारले पिटेको सीसीटीभीमा देखियो दृश्य

पूर्वसचिव पत्नीलाई कामदारले पिटेको सीसीटीभीमा देखियो दृश्य

काठमाडौं : ललितपुरको सानेपास्थित पूर्वसचिव अर्जुन कार्कीको निवासमा सीसीटीभी जडान गरिएको थियो । प्रहरीले सीसीटीभीको फुटेज हेरेर पत्नी मुना कार्कीको हत्यामा कामदारकै संलग्नता रहेको निष्कर्ष निकालेको छ ।

कार्कीको घरमा कार्यरत कामदार २२ वर्षीय विजय चौधरीले मुनाको हत्यापछि झुण्डिएर आत्महत्या गरेको प्रहरीको भनाइ छ । अपराधस्थलमा खटिएका ललितपुर प्रहरी परिसर जावलाखेलका एक अनुसन्धान अधिकृतका अनुसार भान्सामा रहेको पिर्का प्रहार गरेर कामदारले हत्या गरेको हुन सक्ने आशंका प्रारम्भमै गरिएको थियो ।

भान्छा छेऊ रहेको क्लोज सर्किट (सीसी) क्यामराको दृश्य हेरेपछि कामदार चौधरीले नै मुनाको हत्या गरेको निष्कर्षमा अनुसन्धान अधिकृत पुगेका छन् ।

एक कनिष्ठ प्रहरी अधिकृतले भने, ‘फुटेजमा चौधरीले महिलालाई घाँटीमा समातेर घिसार्दै लगेको देखिन्छ ।’ उनका अनुसार यो दृश्य बिहान ९ बजेको हो ।

प्रहरीका अर्का उच्च अधिकृतले पनि फुटेजमा चौधरीले मुनालाई आक्रमण गरेको देखिएको पुष्टि गरेका छन् । यद्यपि, दुईबीच के रिसिइबी थियो भन्ने खुलिसकेको छैन । प्रहरीले हत्याको कारण खोज्दै विभिन्न व्यक्तिसँग वयान लिने क्रम जारी राखेको छ । छिमेकीका अनुसार चौधरीलाई कार्की परिवारले सानैदेखि घरमा राखेको थियो ।

प्रहरीका अनुसार घटना हुँदा पूर्वसचिव कार्की घरमा थिएनन् । उनी बिहानजै उठेर पशुपतिनाथको दर्शन गर्न गएका थिए । फर्किएर आउँदा उनले श्रीमती मुनालाई अचेत अवस्थामा फेला पारेर प्रहरीलाई खबर गरेका थिए । लगत्तै उद्धार गरेर स्टार हस्पिटल पुर्याइए पनि चिकित्सकले मृत घोषित गरेको महानगरीय प्रहरी परिसरका प्रमुख एसएसपी टेकप्रसाद राईले बताए ।अपराधस्थलमा फरेन्सिक विज्ञको टोलीले पनि अनुसन्धान गरिरहेको छ ।