वैदेशिक रोजगारमा ठगी गर्ने एकजना पक्राउ

काठमाडौ : वैदेशिक रोजगारीमा पठाइदिन्छु भनी ठगी गर्ने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय अपराध नियन्त्रण महाशाखाको टोलीले सोलुखुम्बु घर भई भक्तपुर लोकन्थली बस्ने बालकृष्ण कार्कीलाई पक्राउ गरेको हो । उनले कतार, माल्दिभ्स लगायतका देशमा पठाई दिन्छु भनी प्रलोभनमा पारेर रु आठ लाख लिएको खुल्न आएको छ ।

पैसा लिएर फरार भएका उनलाई पीडितको जाहेरीकोे आधारमा पक्राउ गरिएको महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सहकुलबहादुर थापाले जानकारी दिएका छन् । भक्तपुरबाट पक्राउ परेका उनलाई थप कारवाहीका लागि सोमबार महानगरीय प्रहरी परिसर काठमाडौँमा बुझाइएको महाशाखाले जनाएको छ ।