चीनमा रहेका नेपालीलाई तत्काल उद्धार गर्न मानव अधिकार आयोगको निर्देशन

चीनमा रहेका नेपालीलाई तत्काल उद्धार गर्न मानव अधिकार आयोगको निर्देशन

काठमाडौं : राष्ट्रिय मानव अधिकार आयोगले चीनमा रहेका नेपालीको उद्धार गर्ने कार्य तत्काल अघि बढाउन सरकारलाई आग्रह गरेको छ । आज बसेको आयोगको बैठकले आफ्ना नागरिकलाई शीघ्र र सुरक्षित रुपमा स्वदेश फर्कने वातावरण मिलाउन निर्देशन दिने निर्णय गरेको हो ।
आयोगका अध्यक्ष अनुपराज शर्माले स्वास्थ्य मन्त्रालय र प्रधानमन्त्री तथा मन्त्री परिषद् कार्यालयलाई नेपालीहरुको यथासिघ्र उद्धार गर्न अपिल गरे ।

‘चीनको उक्त प्रान्तमा रहेका नेपाली नागरिकहरूको जीवन जोखिममा पर्नसक्ने तर्फ संवेदनशील भई उनीहरूलाई सुरक्षित रूपमा स्वदेश फर्कने वातावरण मिलाउन नेपाल सरकारलाई आयोग आग्रह गर्दछ’ बैठकपछि आयोगका सचिव वेद भट्टराईले जारी गरेको विज्ञप्तिमा भनिएको छ । चीनको हुवेई प्रान्तमा रहेका १८० नेपालीले स्वदेश फर्काउन चीनस्थित नेपाली दूतावासमा अपिल गरेका छन् ।

उनीहरुका अभिभावकले नेपालमा स्वास्थ्य, गृह र परराष्ट्र मन्त्रालयमा गई आफ्ना छोराछोरीलाई स्वदेश फर्काउन आग्रह गरिरहेका छन् ।अभिभावक उमेश सिंहले भने, ‘स्वास्थ्य मन्त्रालय निकम्मा भयो । हाम्रा आफन्त भोकभोकै त्रासमा छन् । तर, मन्त्रालयले यहि मितीमा ल्याउँदैछौ भनेर स्पष्ट जबाफ दिन मान्दैन ।’ हाल अभिभावकहरुले दिनहुँ आफ्ना आफन्तको गुहार माग्दै सरोकारवाला निकाय समक्ष पुग्ने गरेका छन् ।