चीनबाट फर्किएका नेपाली राख्न प्राधिकरणको दुई भवन खाली, स्थानीयले गरे विरोध

चीनबाट फर्किएका नेपाली राख्न  प्राधिकरणको दुई भवन खाली, स्थानीयले गरे विरोध

भक्तपुर : सरकारले चीनको वुहानबाट फर्काउन लागिएका नेपालीलाई राख्न भक्तपुरको खरीपाटीमा रहेको नेपाल विद्युत प्राधिकरणको दुईवटा भवन खाली गराएको छ । वातावरण तथा सामाजिक अध्ययन विभाग र होस्टेलको भवन खाली गराइएको नेपाल विद्युत प्राधिकरण खरिपाटीका सहनिर्देशक केशवराज ओलीले बताएका छन् ।

उक्त भवनमा १ सय २४ जनालाई राख्न सकिने नेपाली सेनाको प्राविधिक टोली, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट गएको टोलीले निष्कर्ष निकालेपछि भवन खाली गराइएको हो ।

तर कोरोना भाइरसबारे पर्याप्त जानकारी नदिइकनै भवन खाली गराइएको र कोरोना संक्रमित नै राख्न लागेको भन्दै त्यहाँका कर्मचारी र स्थानीयले भने विरोध जनाएका छन् । उनीहरुले चीनबाट फर्काइएका नेपाली राखेपछि आफूहरुलाई पनि कोरोना सर्ने भन्दै क्वारेन्टाईन राख्न नदिने बताएका हुन् ।

चाँगुनारायण नगरपालिकाको शुक्रबार बसेको छैटौ‌ नगरसभाले चीनको वुहानबाट फर्काउन लागिएका नेपालीलाई भक्तपुरको खरिपाटीमा राख्ने सरकारको निर्णयप्रति आपत्ति जनाउँदै विकल्प खोज्न आग्रह गरेको छ ।

यस्तै सरकारले भक्तपुरकै सूर्यविनायक वीरदल गणमा पनि क्वारेन्टाईन राख्ने भने पनि त्यसबारेमा कुनै जानकारी नआएको र राख्ने ठाउँ समेत नभएको नेपाली सेना वीरदल गणले जनाएको छ । चीनबाट फर्कन १ सय ८० जना नेपालीले आवेदन दिएका छन् । चीनमा रहेका नेपालीका आफन्तले भने तत्काल उनीहरुलाई स्वदेश फर्काएर ज्यान जोगाइदिन माग गर्दै आएका छन् ।