बुटवलमा लागूऔषध नियन्त्रण गर्न परामर्श केन्द्रको स्थापना

बुटवल : लागूऔषधको प्रयोग रोकथाम र नियन्त्रणका लागि बुटवल उपमहानगरपालिकामा निशुल्क कानुनी तथा मनो सामाजिक परामर्श केन्द्र सञ्चालनमा ल्याइएको छ ।

बुटवल उपमहानगरपालिकाको वडा नंं ५ कार्यालय नजिकै सञ्चालनमा ल्याइएको उक्त परामर्श केन्द्रको बिहीबार प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल र बुटवल उपमहानगरपालिका प्रमुख शिवराज सुवेदीले संयुक्त रुपमा उद्घाटन गरे ।

उद्घाट्नपछि समारोहलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक (आइजीपी) सवेन्द्र खनालले लागूऔषध प्रयोगकर्तालाई दण्ड होइन परामर्श दिने उद्देश्यले बुटवल उपमहानगरको सहकार्यमा परामर्श कन्द्र सञ्चालनमा ल्याइएको बताए ।

महानिरीक्षक खनालले भारतसँगको खुला सिमाको कारण लागूऔषधको प्रयोग तथा ओसारपसारका अपराधहरु हुने गरेको उल्लेख गर्दै समुदायको सहयोगले मात्रै लागूऔषध, अपराध नियन्त्रण तथा शान्ति सुरक्षा कायम गर्न सम्भव हुने बताए ।

कार्यक्रममा बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीले लागूऔषधको कारोबार तथा ओसारपसार नियन्त्रणका लागि प्रहरी र समुदायका बीचमा सामुहिक प्रयास जरुरी रहेको बताए ।कार्यक्रममा परामर्श केन्द्र संचालनको लागि बुटवल उपमहानगरपालिकाका प्रशासकीय अधिकृत चक्रपाणी शर्मा र जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी प्रमुख प्रहरी उपरिक्षक हेमबहादुर थापाले सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए । बुटवलको वडा नं. ५ को कार्यालय परिसरमा यो परामर्श केन्द्र स्थापना गरिएको छ ।