चीनमा रहेका आफ्ना छोराछोरी नेपाल ल्याउन माग गर्दै अभिभावकले गरे स्वास्थ्य मन्त्रालय घेराउ

चीनमा रहेका आफ्ना छोराछोरी नेपाल ल्याउन माग गर्दै अभिभावकले गरे स्वास्थ्य मन्त्रालय घेराउ

काठमाडौं : चीनमा रहेका नेपालीका अभिभावकले आफन्तहरूको तत्काल उद्धार हुनुपर्ने माग गरेका छन् । बिहीबार दिउँसो स्वास्थ्य मन्त्रालय पुगेका उनीहरुले तत्काल उद्धार गरी नेपाल ल्याउन माग गरेका हुन् ।

मन्त्रालयमा पुगेका ३० जना अभिभावकले चीनमा आफ्ना छोराछोरीले सुरक्षित नभएको बताएका छन् । घरमा झ्याल ढोका बन्द गरेर बस्नुपरेको र खानेकुरासमेत नपाएको अभिभावकहरुले बताएका छन् ।

चीनको वुहान प्रान्तको हुवेई र अरु शहरमा उद्धारको पखाईमा सरकारको बाटो हेरिबसेका आफ्ना छोराछोरीको उद्धार यथासक्य चाँडो गर्न उनीहरुले माग गरेका छन् ।

स्वास्थ्य मन्त्रालय घेराऊ गर्न पुगेका आफन्तहरुले कर्मचारीहरुको कक्षमा पुगेर स्वास्थ्यमन्त्री भानुभक्त ढकालसँग भेट गर्न पाउनुपर्ने माग गरेका थिए । एकै जना प्रतिनिधिलाई भए पनि भित्र पठाइदिन आग्रह गर्दै अभिभावकहरुले कर्मचारीसँग आक्रोश पोखे,‘ यो म मन्त्रीज्यूको लापरबाही भयो नि ।’

चीनमा कैयौंदिन देखि अलपत्र रहेका आफ्ना छोराछोरी र आफन्तलाई स्वदेश फर्काउन सरकारले हेलचेक्र्याइँ गरिरहेको अभिभावकहरुको गुनासो छ । चीन सरकारले जति नै राम्रोसँग राखेको भने पनि चीनमा ‘आइसोलेसन’मा राखिएका नेपाली विद्यार्थी एवं अस्पतालमा कार्यरत नेपाली डाक्टहरुको अवस्था कठिन हुँदै गएको भिडियो सन्देशसमेत अभिभावकहरुले मन्त्रालयको प्राङ्गणमा पत्रकारहरुलाई देखाएका छन् ।

चीनमा रहेका नेपाली विद्यार्थीलाई कोरोना भाइरसको संक्रमण नभएता पनि घरभित्र थुनिएर बस्नुपर्दा लजिस्टिक समस्याहरु पर्न थालेको र सबैलाई चीन सरकारले खानपिनको सुविधा नदिएकाले खर्च सकिन लागेको भन्दै नेपालमा रहेका अभिभावकहरुले चिन्ता प्रकट गर्दै मन्त्रालय घेराउ गरेका हुन् ।