सप्तरी : सप्तरीका मेयरमाथि हातपात भएको बिरोधमा आज (बिहीबार) जिल्लाका सबै स्थानीय तहले सेवा प्रवाह बन्द गरेका छन् ।
जिल्लाको डाक्नेश्वरी नगरपालिकाका मेयर शिबनारायण साह उपर हातपात भएको बिरोधमा जिल्लाका १८ वटै स्थानीय तहले सेवा बन्द गरेका हुन् ।
डाक्नेश्वरी ५ पातोस्थित माध्यमिक विद्यालयमा आयोजना गरिएको कार्यक्रममा सहभागी हुन जाने क्रममा बाटोमै केही व्यक्तिहरुको समूहले मंगलबार मेयर साहसहित कर्मचारीलाई रोकेर हातपात गरेको जिल्ला समन्वय समितिका प्रमुख प्रभाकर यादवले जानकारी दिए ।
मेयर साहले डाक्नेश्वरी नगरपालिका ५ का अमरेन्द्र यादव, अर्जुन यादव, महेश्वरप्रसाद यादव, वडानम्बर ३ बस्ने राजीवकुमार राय, ज्योतिषकुमार राय, वडा नम्बर ७ बस्ने गजेन्द्रप्रसाद साहलगायतका व्यक्तिहरुले हेलमेट, बाँसको भाटा लिएर आफूसहित गाडीमा रहेका कर्मचारीमाथि हमला गरेको बताएका छन् ।
मेयरमाथि भएको हमलाको बिरोध गर्दै राजविराजस्थित जिल्ला समन्वय समितिमा बसेको बैठकले बिहीबार जिल्लाका सबै स्थानीय तह बन्द गर्ने निर्णय गरेको थियो ।
मेयरमाथि हमला गर्ने व्यक्तिहरुलाई बिहीबार कारबाही प्रकृया अगाडि नबढाइए लगातार स्थानीय तह बन्द गरिने जिल्ला समन्वय समिति प्रमुख यादवले बताए ।
हाल सप्तरीमा ९ नगरपालिका र ९ गाउँपालिका गरी १८ वटा स्थानीय तह रहेका छन् ।