छ महिनामा २९ महिलाको दाइजो प्रथाका कारण जिवन प्रभावित

छ महिनामा २९ महिलाको दाइजो प्रथाका कारण जिवन प्रभावित

ललितपुर, २२ माघ (रासस) : महिला पुनःस्थापना केन्द्र (ओरेक) ले सार्वजनिक गरेको तथ्याङ्क अनुसार मुलुकमा छ महिनामा २९ महिला दाइजो प्रथाका कारण प्रभावित भएका छन् ।

सो अवधिमा गरिएको अनुसन्धान अनुसार नेपालमा ७२४ महिला हिंसाका घटना भएकोमा २९ दाइजोका कारण भएको ओरेकका कार्यकारी निर्देशक लुभराज न्यौपानेले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “ २९ घटनामा १६ शारीरिक, पाँच मानसिक, चार स्रोत सुविधाबाट वञ्चित, दुई हत्या, एक हत्याको प्रयास र एक आत्महत्या छन् ।” पुसमा ओरेकमा ११२ महिलामाथि भएको हिंसाका घटना अभिलेखिकरण भएकोमा ३६ वटा राष्ट्रिय पत्रपत्रिकाबाट सङ्कलन गरिएको न्यौपानेले बताउनुभयो ।

तथ्याङ्कको आधारमा ४९ प्रतिशत महिलामाथि घेरेलु हिंसा, १८ प्रतिशतमा यौन, १० प्रतिशतमा सामाजिक र सोही अनुपातमा महिलाको हत्या, आठ प्रतिशत बेचबिखनलगायतका घटना भएको अभिलेखिकरण गरिएको थियो । हिंसा प्रभावित महिलामध्ये ४५ प्रतिशत श्रीमान्बाट, २२ प्रतिशत छिमेकीबाट, १२ प्रतिशत परिवारका सदस्यबाट प्रभावित भएको देखिएको छ ।