सङ्खुवासभा, २२ माघ (रासस) : उत्तरी नाका किमाथाङ्काबाट चीनको चाँगा बजारमा काम गर्न गएका एक बालकसहित १४ नेपालीलाई १६ दिनपछि स्वदेश फर्काइएको छ । उहाँहरुलाई कोरोना भाइरसका कारण चीनले नेपालको सीमानाका किमाथाङ्का र ओलाङचुङ्गगोला बन्द गरिदिएपछि स्वदेश आउन समस्यामा परेको थियो ।
सङ्खुवासभाका १२ जनालाई मंगलबार चाँगाबाट किमाथाङ्का हुँदै स्वदेश फर्काइएको सहायक प्रमुख जिल्ला अधिकारी मोहनमणि घिमिरेले जानकारी दिनुभयो । सशस्त्र प्रहरी सीमा सुरक्षा पोष्ट स्थानीय प्रशासन, सीमा प्रहरी चौकी र भोटखोला गाउँपालिकाका जनप्रतिनिधिको पहलमा करिब डेढ घण्टाका लागि नाका खुला गरी स्वदेश फर्काइएको उहाँले बताउनुभयो । भोटखोला गाउँपालिका–१ का वडाध्यक्ष तेन्छेवी शेर्पा, सशस्त्र प्रहरी सीमा सुरक्षा पोष्टका निरीक्षक देवकुमार राई, नेपाल प्रहरी र स्वास्थ्य चौकी किमाथाङ्काको संयुक्त प्रयासमा उहाँहरुलाई स्वदेश फर्काइएको हो ।
वडा नं १ का वडाध्यक्ष शेर्पाले भन्नुभयो, “सीमानामा रहेको गेटमा हामी स्वास्थ्यकर्मीसमेत लिएर गयौँ, उताबाट पनि चिकित्सकसँगै आए, दुवैतर्फबाट स्वास्थ्य परीक्षण गरेर स्वदेश फर्काइयो । ”