अछाममा वडाध्यक्षको हत्या अनुसन्धानमा ढिलाइ गरेको भन्दै आन्दोलनमा उत्रिए आफन्त

अछाममा वडाध्यक्षको हत्या अनुसन्धानमा ढिलाइ गरेको भन्दै  आन्दोलनमा उत्रिए आफन्त

कैलाली : अछाममा वडाध्यक्षको हत्यामा संलग्नलाई पक्राउ गरी कारबाहीको माग गर्दै बुधबारदेखि आन्दोलन सुरु भएको छ ।

अछामको पन्चदेवल विनायक नगरपालिका २ का अध्यक्ष पदमबहादुर धामीको शव मङ्गलबार बिहान विनायक बजारबाट ३० मिनेटको दुरीमा रहेको गैरीगाउँको गोठमा भेटिएको थियो ।धामीको हत्या भएको दाबी गरिएको छ । उनका आफन्तहरूले बुधबार बिहानैदेखि मध्यपहाडी लोकमार्ग साथै विनायक बजार पनि अवरुद्ध गरेका छन् । आफन्त तथा स्थानीयवासीले नगर क्षेत्रका सबै शैक्षिक संस्था र सरकारी कार्यालयहरू पनि बन्द गराएका छन् ।

पन्चदेवल बजारमा बिहानैदेखि टायर बालेर सवारी आवतजावत् बन्द भएपछि यात्रुहरू अलपत्र परेका छन् । अनुसन्धानमा प्रहरीले ढिलाइ र लापरबाही गरेको भन्दै आन्दोलन सुरु गरेको आफन्तहरूले बताएका छन् । संलग्नहरू उम्किन सक्ने आरोप लगाए । ‘३ दिन पहिले हत्या गरिएको शवमा अनुसन्धान गर्न तालिमप्राप्त कुकुरसहितको टोलीले आज मात्रै पुगेको छ,’ उनले भने, ‘हिजोसम्म पनि त्यो टोली आएको भए सत्य तथ्य बाहिर आउन सक्ने थियो ।’

मङ्गलबार १० बजे धनगढीबाट हिँडेको टोली मङ्गलवार राती घटना स्थलमा नपुग्नु प्रहरीको लापरबाही रहेको उनले बताए । अछाम सदरमुकाम मंगलसेनबाट १ घण्टाको यात्रामा घटना स्थलमा पुग्न सकिने भए पनि प्रहरी बिहान पुगेको भन्दै उनले आक्रोश व्यक्त गरे । तालिम प्राप्त कुकुरसहितको टोली बिहानैदेखि अनुसन्धान सुरु गरे पनि अहिले सम्म कुनै प्रमाण भेट्न नसेको उनले बताए । उक्त टोली आउन ढिलाइ भएका कारण अनुसन्धानमा प्रभाव पर्न सक्ने उनको भनाइ थियो ।