दुई सातामा ७ लाख मास्क निर्यात

दुई सातामा ७ लाख मास्क निर्यात

काठमाडौँ : दुई सातामा ७ लाख ५९ हजार मास्क निर्यात भएको छ । त्रिभुवन विमानस्थल भन्सार कार्यालयका अनुसार ती मास्क माघ ५ देखि २० गतेसम्म चीन र हङकङतर्फ निर्यात गरिएको हो ।

व्यवसायीहरू भने नेपाली बजारबाट ५० लाख बराबरका साधारण र १ लाख बराबरका ‘एन–९५’ मास्क बिक्री भइसकेका बताउँछन् । जुन मास्क चिनियाँ नागरिकले देश लैजान बाँकी रहेको, नेपालमा पनि प्रयोग बढेको र व्यापारीले कालोबजारी गर्न मौज्दामा राखेको हुन सक्ने अनुमान गरिएको छ ।

सरकारी तथ्यांकअनुसार व्यवसायीले भनेको संख्यामा ४४ लाखको अन्तर देखिएको हो।विमानस्थल भन्सार कार्यालयका सूचना अधिकारी राजकुमार अधिकारीले भन्सार कार्यालयको तथ्यांकमा कुनै तलमाथि नभएको बताए । भक्तपुर लोकन्थलीका जीएच मेडिहेल्थ कन्सर्नका सञ्चालक होमप्रसाद गौतमले १ लाख ५० हजार थान साधारण र ८५० थान ‘एन–९५×’ मास्क बिक्री गरेको बताए ।

त्यस्तै काठमाडौंको त्रिपुरेश्वरस्थित न्यु हिमालयन सर्जिकल हाउसका सञ्चालक युवराज बेल्बासेले ४० हजार थान साधारण मास्क बिक्री गरे को छ। त्रिपुरेश्वरकै बीआर सर्जिकलकका पुष्कर पनेरूले एक लाख थान साधारण मास्क बिक्री गरेका छन् । यो माघ ५ गतेदेखि १७ गतेसम्म व्यापारीले बिक्री गरेका मास्कको संख्या भएको केमिकल एन्ड मेडिकल सप्लायर्स एसोसिएसन अफ नेपालका अध्यक्ष सुरेश घिमिरेले जनाए ।बजारमा मास्कको अत्यधिक माग र बिक्री भएपछि एसोसिएसनले सरकारलाई ध्यानाकर्षण गराइसकेको छ ।