कोरोना भाइरसका कारण चीनबाट लसुन आयात रोकियो, लसुनको मूल्य किलोमै १५४ प्रतिशतले बृद्धि

कोरोना भाइरसका कारण चीनबाट लसुन आयात रोकियो, लसुनको मूल्य किलोमै १५४ प्रतिशतले बृद्धि

काठमाडौँ : पछिल्लो समय लसुनको मुल्यबृद्धि आकासिएको छ । तरकारीको मूल्य घटिरहेका बेला लसुनको मुल्य भने चुलिएको चुलियै छ । सरकारी तथ्यांकअनुसार पछिल्ला तीन सातामा लसुनको मूल्य १५४ प्रतिशत बढेर होलसेलमै किलोको ५६० रुपैयाँ पुगेको छ ।

गएको पुस २९ मा प्रतिकिलो २२० रुपैयाँ ९थोक मूल्य० मा कारोबार भएको लसुन माघ २१ गते बढेर ५६० रुपैयाँ पुगेको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांक छ ।माग र आपूर्तिबीच हुने असन्तुलनकै अवसर पारी बिचौलियाहरू सलबलाउँदा उपभोक्ता चर्को मूल्य तिर्न बाध्य भएको जानकारहरूको भनाइ छ ।

नेपालमै पर्याप्त उत्पादन नहुँदा लसुन समेत विदेशबाट आयात गर्नुपर्ने अवस्था रहेको छ । कालीमाटी तरकारी बजारभित्र चीनबाटै आयातित लसुन बिक्री हुन्छ । तर नोवेल कोरोना भाइरसको प्रकोपलगत्तै चीनले निर्यातमा बन्देज गरेको र चीनले आयातमा कडाइ गर्दा लसुनको मुल्य बढेको समितिको दावी छ ।

होलसेलमै ५ सय ६० रुपैयाँमा बिक्री हुँदा खुद्रामा ७ सय रुपैयाँभन्दा माथि कारोबार भएको व्यवसायी बताउँछन् । मागअनुसार आपूर्ति नहुँदाको फाइदा उठाउँदै बिचौलियाहरूले समेत चलखेल गरेको साना व्यवसायी बताउँछन् । उनीहरूका अनुसार ठूला व्यवसायीले गोदाममा लसुन राखेर बिक्री गरिरहेका छन् । यता, व्यवसायीसँग भएको मौज्दात सकिएका कारण लसुनको मुल्य ह्वात्तै बढेको कालीमाटी फलफुल तथा तरकारी बजार व्यवस्थापन समितीको तर्क छ ।