६० लाख निशेचित अण्डा नष्ट गर्दा मासुको मुल्य दोब्बरले बढ्यो

६० लाख निशेचित अण्डा नष्ट गर्दा मासुको मुल्य दोब्बरले बढ्यो

काठमाडौं : नेपाल ह्याचरी संघले ६० लाख निशेचित अण्डा नष्ट गर्दा कुखुराको मासुको भाउ आकासीएको छ । अत्याधिक चल्ला उत्पादनले उचित मूल्य नपाएको भन्दै गत पुस ६ मा चिकेन होलिडे’मुल नारा बनाई ६० लाख अण्डा नष्ट गरेको हो ।

त्यसको केही दिनयता नेपाल अण्डा उत्पादक संघले अण्डाको मूल्य बढाएसंगै राष्ट्रिय कुखुरा बिक्री व्यवसायी संघले मासुको मूल्य प्रतिकिलो २० रुपैयाँ बढेको सूचना निकालेको थियो । अहिले काठमाडौंमा कुखुराको मासुको मूल्य प्रतिकिलो ४३० रुपैयाँ पुगेको छ ।

आजभन्दा ४५ दिन अघि तथा चिक्स होलिडे गर्नुअघि प्रतिकिलो कुखुराको मासुको २४० रुपैयाँ मात्र थियो । कृषि तथा पशुपंछि विकास मन्त्रालयको तथ्यांकअनुसार काठमाडौं उपत्यकामा बोइलर कुखुराको मासु दैनिक तीन लाख किलो खपत हुने हुदा मासु ब्यापारीले उपभोक्तासँग दैनिक ५ करोड ७० लाख रुपैयाँ बढी असुली गरीरहदा सरकार भने रमिते बनेको छ ।

कुखुराको मासु, चल्ला र अण्डा उत्पादनमा नेपाल आत्मनिर्भर मुलुक हो । पछिल्लो दुई महिना अवधिमा यो व्यवसायलाई प्रत्यक्ष प्रभाव पार्ने रोगको प्रकोप, हावा पानी र मौसमी प्रतिकुलता तथा कुनै पनि सरकारी नीति आएको छैन् ।

तर उपभोक्ताको ढाड सेक्ने गरी अण्डा र मासुको मूल्य बढेको छ । यसको दुईवटा कारण छन्, पहिलो कारण, कुखुरा र मासु व्यवसायीको सिण्डिकेट, दोस्रोे सिडिण्केटमा सरकारको साथ’ उपभोक्ता अधिकारकर्मी माधव तिमिल्सिनाले भने ।

ह्याचरी उद्योगीले मंसिर २८ गते पत्रकार सम्मेलन गर्दै चिक्स होलिडे अभियान घोषणा गरेका थिए । अत्याधिक चल्ला उत्पादनले गर्दा ह्याचरी र कुखुरापालक किसानले लागत मूल्य बराबर मूल्य नपाएको भन्दै १० दिनका लागि चल्ला उत्पादन रोक्न अभियान चलाइएको र ४० लाख चल्ला उत्पादन हुने ६० लाख निशेंचित अण्डा नष्ट गरिएको हो ।

अण्डाको मूल्य बढेको भोलिपल्ट राष्ट्रिय कुखुरा बिक्री व्यवसायी संघले मासुको मूल्य प्रतिकिलो २० रुपैयाँले बढाएको हो । त्योसाता दुई पटक कुखराको मासुको मूल्य संघले बढायो । प्रतिकिलो २५० रहेको मासुको मूल्य २७० हुँदै २८५ रुपैयाँ पुर्‍याइयो । मंगलबार बेलुकासम्म मासुको मूल्य १९० रुपैयाँले बढेको छ र प्रतिकिलो ४३० रुपैयाँ पुगेको छ ।