संयुक्त राष्ट्रसंघको जागिरको लागी कृषि सचिवले त्यागे पद

संयुक्त राष्ट्रसंघको जागिरको लागी कृषि सचिवले त्यागे पद

काठमाडौं : संयुक्त राष्ट्रसंघको खाद्य एवं कृषि संगठन (एफएओ) मा जागिर खान कृषि सचिव डा.युवकध्वज जिसीले राजीनामा बुझाएका छन् । मन्त्रिपरिषद्मा पेश भएको उनको राजीनामा स्वीकृत भने भएको छैन ।

कृषि सचिवको रुपमा जिसीले मन्त्रालय सम्हालेको गत हप्ता तीन वर्ष पूरा भएको छ । ०७३ माघ ६ को मन्त्रिपरिषद निर्णयबाट उनी सचिवमा बढुवा भएका थिए । सचिवको रुपमा जिसीको सेवाअवधि सकिन अझै दुई वर्ष बाँकी रहेको छ ।

संयुक्त राष्ट्रसंघ अन्तर्गतको खाद्य एवं कृषि संगठन (एफएओ) को क्षेत्रिय प्रमुखको रुपमा केही समयअघि जिसीले नाम निकालेका थिए । एफएओको क्षेत्रिय कार्यालय थाइल्याण्डको बैंककमा रहेको छ । फागुन पहिलो सातादेखि एफएओको जिम्मेवारी सम्हाल्ने तयारीमा जिसी रहेको स्रोतले बताएको छ ।

संयुक्त राष्ट्रसंघको आकर्षक जागिर सुरु हुने भएपछि उनले सरकारी सुविधा त्याग्ने गरी कृषि सचिव पदबाट राजीनामा बुझाएको मन्त्रालय स्रोतले बतायो । सरकारी सेवामा १८ वर्ष बिताएका जिसीको राजीनामा स्वीकृत भए उनले पेन्सन सुविधा पनि पाउने छैनन् ।

यसअघि अन्तर्राष्ट्रिय नियोगको जागिर खान यसअघि सरकारका मुख्य सचिव सोमलाल सुवेदी र स्वास्थ्य सचिव पुष्पा चौधरीले पनि सेवा अवधि बाँकी रहँदै राजीनामा दिएका थिए । सोमलाल सुवेदीले एशीयाली विकास बैंक र चौधरी विश्व स्वास्थ्य संगठनमा जागिरे भएका थिए ।