दोलखाका तत्कालीन प्रजिअ रिजालबिरुद्ध पाँच वटा मुद्दा दायर

काठमाडौं : दोलखाका तत्कालीन प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालविरुद्ध ५ वटा मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रिजालविरुद्ध चार वटा घुस र अर्को अनुगमनमै नगई भत्ता बुझेको आरोपमा विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

आफ्नो क्षेत्राधिकारभित्रका मुद्दाका अभियुक्तलाई धरौटीमा रिहा गर्न घुस मागेको आरोप लागेपछि रिजाल निलम्बनमा परेका थिए । उनले विभिन्न मुद्दासम्बन्धी केश लाग्छ तथा कारागारको डरत्रास देखाई बार्गेनिङ गर्ने गरेको र फरक फरक सेवाग्राहीसँग पटक(पटक गरी ५० हजार, ९० हजार, ३५ हजार र ४ लाख रुपैयाँ घुस लिएको पाइएको अख्तियारले जनाएको छ ।

यस्तै अनुगमनमा नगइ अनियमित तरिकाले ७७ हजार ६०० भ्रमण भत्ता समेत लिएको पाइएको भन्दै अख्तियारले रिजालविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।