पारालम्पिकमा नेपाललाई पहिलो पदक दिलाउने पलेसालाई काठमाडौंमा भव्य स्वागत

पारालम्पिकमा नेपाललाई पहिलो पदक दिलाउने पलेसालाई काठमाडौंमा भव्य स्वागत

काठमाडौँ । पेरिस पारालम्पिक अन्तर्गत पारा तेक्वान्दोमा नेपाललाई ऐतिहासिक पदक दिलाउने पलेसा गोवर्धनसहितको पारा तेक्वान्दो टोलीलाई बुधबार काठमाडौँमा भव्य स्वागत गरिएको छ।

पलेसाले पेरिस पारालम्पिकमा नेपाललाई काँस्य पदक दिलाएकी थिइन्। शुक्रबार राति भएको खेलमा उनले के–४४ क्याटगोरीको महिला ५७ केजीमुनि तौल समूहको काँस्य पदक जितेकी हुन्। योसँगै पलेसा ओलम्पिक्स र पारालिम्पिक्समा नेपाललाई पदक दिलाउने पहिलो खेलाडी बन्न सफल भएकी छन्।

बुधबार बिहान स्वेदश आइपुगेकी पारा तेक्वान्दो खेलाडी पलेसालाई काठमाडौँमा भव्य स्वागत गरिएको छ। उनी सहितको टोलीलाई नगर परिक्रमासहित स्वागत गरिएको हो। विमानस्थलबाट गौशाला, पुरानो बानेश्वर, मैतीदेवी, डिल्लीबजार, बागबजार, भद्रकाली, सहिदगेट, त्रिपुरेश्वरचोक हुँदै राष्ट्रिय खेलकुद परिषद्को प्रांगणमा पुगेर बधाई कार्यक्रम आयोजना गरिएको थियो।

पारा ओलम्पिक्स अपांगता भएका खेलाडीले खेल्ने सबैभन्दा ठूलो खेलकुद प्रतियोगिता हो। पलेसाले पदक जितेको के–४४ विधा ‘एउटा हातको कुहिनाभन्दा तलको भाग नहुने’ खेलाडीको विधा हो।

पलेसाले काँस्य पदकका लागि भएको रिपाचेजमा सर्बियाकी मारिजा मिकेभलाई १५८ ले हराएकी थिइन्। यसअघि उनले पेरिस पारालम्पिक अन्तर्गत रिपाचेजको पहिलो खेलमा फ्रान्सकी सोफी काभरजानलाई २-१ को स्कोरमा जितेकी थिइन्। पलेसा छनोट चरण पार गर्दै पेरिस पारालिम्पिक्समा सहभागी भएकी हुन्। कास्य पदक जितेकी पलेसाले अब सरकारबाट ६५ लाख रुपैयाँ प्राप्त गर्नेछिन्।

राष्ट्रिय खेलकुद विकास नियमावली २०७९ मा समर ओलम्पिक्स, विन्टर ओलम्पिक्स, पारालम्पिक, विशेष ओलम्पिक्स र विश्वकप फुटबलमा व्यक्तिगततर्फ स्वर्ण पदक जित्नेलाई १ करोड ३० लाख, रजत पदक जित्नेलाई ९७ लाख र काँस्य पदक जित्नेलाई ६५ लाख रुपैयाँ पुरस्कार दिने व्यवस्था छ। पलेसासहितको टोलीलाई प्रशिक्षक कविराज नेगी लामा, युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरी लगायतले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए।