अछाममा छाउगोठ भत्काउने क्रममा प्रहरी हवलदारमाथी कुटपीट

डोटी : अछाम बान्नीगढी जयगढ गाउँपालिका–३ धारासैन गाउँमा शनिबार छाउगोठ भत्काउने अभियान चलीरहेको बेला छाउगोठ भत्काउन जयगढबाट प्रहरी हबल्दार धनबहादुर कैलासहितको टोली पुगेको थियो ।

प्रहरी सहितको टोलीले छाउगोठ भत्काउन लाग्दा स्थानीय एक महिलाले बिरोध गरिन् । तर टोलीले उनको कुरा सुन्दै नसुनी भत्काउन थाल्यो । आक्रोशित महिलाले दाउराले प्रहरी हबल्दार कैलामाथी प्रहार गरिन् । कैला घाइते भए । उनको कम्मरमा चोट लागेको प्रहरीले जानकारी दिएको छ । हवल्दार कैलामाथी आक्रमण गर्ने स्थानीय ५४ वर्षीया धना साउँदलाई अछाम प्रहरीले नियन्त्रणमा लिएको छ ।

अछाम प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक दीपक भारतीले घटनाको पुष्टि गर्दै यसबारे थप अनुसन्धान भइरहेको बताए ।करिब एक महिनाअघि अछाम साँफेबगर नगरपालिका–१४ पातलकोटकी रम्भा थापाको छाउगोठ प्रहरी, जनप्रतिनिधि र स्थानीय मिलेर भत्काए । उनको परिवारले फेरि छाउगोठ बनाएको छ । ‘छाउगोठ भत्काएपछि सर्प आयो,’ रम्भा भन्छिन्, ‘अचेल घर नजिकै फराकिलो गोठ बनाएका छौं ।’ पहिलेको भन्दा अहिलेको छाउगोठ सुरक्षित भएको उनको दाबी छ ।

बझाङ, खप्तडछान्ना गाउँपालिका–७ गडराय गोर्खाली गाउँका वंश खड्काको घरमा रहेको छाउगोठ पनि गोठ भत्काउने अभियानअन्तरगत नै भत्काइयो । भत्काएको केही दिनमै खड्काले नयाँ गोठ बनाइहाले । ‘बुहारी सुत्केरी हुने समय नजिकिएकाले गोठ बनाउनु पर्‍यो,’ उनले भने, ‘परिवारका महिला सदस्यहरु सुत्केरी र महिनाबारी हुँदा बस्ने छाउगोठ त चाहियो नि १’गैरसरकारी संस्थाहरुको समेत सहभागीतामा प्रहरी र जनप्रतिनिधिहरुले छाउगोठ भत्काइए पनि स्थानीयले पुनः बनाउन थालेका छन् ।

छाउगोठ पुनः बनाउँदा स्थानीयले ४०र५० हजार रुपैयाँसम्म खर्च गरिरहेको पाइएको छ । अछाम साँफेबगर–१४ कि मोतीकला थापाले भनिन्, ‘छाउगोठ फेरि बनाउँदा ४० हजारजति खर्च भयो । घर सानो भएकाले सुत्ने ठाउँ नपुग्दा नयाँ छाउगोठ बनाउनुपर्‍यो ।’

छाउगोठ भत्काउने अभियानले समुदायमा विवाद सिर्जना गरेको अछामका पत्रकार विष्णु भण्डारी बताउँछन् । ‘भत्किएका छाउगोठहरु पनि फेरि बनाइँदैछन्, फेरि भत्काइँदै छन्,’ उनले भने, ‘कसैले भत्काऔं भन्छन्, कसैले भत्काउन पाइँदैन भन्छन् । विवाद बढ्दै गएको छ ।’ केही दिनअघि जुम्लाबाट निर्वाचित सांसद गजेन्द्रबहादुर महतले छाउगोठ भत्काइएको विरोध संसद बैठकमै गरेका थिए ।