चितवनमा बसले ट्रकलाई ठक्कर दिँदा आठ महिने शिशुको मृत्यु, नौजना घाइते

चितवन : बसले ट्रकलाई ठक्कर दिँदा चितवनमा आठ महिने शिशुको मृत्यु भएको छ। महोत्तरी मनोरसा–६ का गुन्दो मण्डलका छोरा सत्यमको मृत्यु भएको जिल्ला प्रहरी कार्यलय चितवनले जनाएको छ।

शनिबार राति १ः१५ बजे भएको दुर्घटनामा परी बसमा सवार नौजना घाइते भएका छन्। तीमध्ये तीनजनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। घाइतेमध्ये पाँचजनाको नयाँ मेडिकल कलेज र चारजनाको पुरानो मेडिकल कलेजमा उपचार भैरहेको प्रहरी नायब उपरीक्षक एकनारायण कोइरालाले जानकारी दिए।

पूर्व–पश्चिम राजमार्गको खैरहनी नगरपालिका–३ मा जलेश्वरबाट काठमाडौतर्फ गइरहेको ना ७ ख ३२४८ नम्बरको बसले सोही दिशातर्फ गइरहेको ना ६ ख १५०६ नम्बरको ट्रकलाई पछाडिबाट ठक्कर दिएको थियो। घाइतेमध्ये महोत्तरीका ४० वर्षीय सहदेव महतो, १९ वर्षीय हरिशंकर सिंह र मनोरसा नगरपालिका–६ की २५ वर्षीया सरिता मण्डलको अवस्था गम्भीर छ। दुर्घटनामा परेको दुवै सवारी साधन प्रहरीको नियन्त्रणमा रहेको छन्। बस चालक फरार रहेको प्रहरीले बताएको छ।