नेपाली सेनामा एकै परिवारका छ जना दाजुभाइ भर्ती

नेपाली सेनामा एकै परिवारका छ जना दाजुभाइ भर्ती

दाङ : गौरवमय इतिहास र परम्परा बोकेकोे नेपाली सेनामा एकै परिवारका छ जना दाजुभाइ भर्ती भएको पाइएको छ । एकै परिवारका चारभन्दा बढी सन्तानलाई सेनामा प्रवेश गर्न प्रेरित गर्ने बाबुआमालाई सम्मान गर्ने परिपाटी सुरु गरेसँगै यो तथ्याङ्क जानकारीमा आएको हो ।

प्रधानसेनापति पूर्णचन्द्र थापाले दाङको घोराहीमा आयोजित भूतपूर्व सैनिक सम्मेलनमा पाँच सैनिकका बाबु रोल्पा थवाङ–३ का ७० वर्षीय कर्णसिंह पुनलाई सम्मान गरी उक्त कार्यको सुरुवात गरेका छन् ।

भक्तबहादुर, प्रदीप, राजकुमार, नरजित र लालमुनी पुनका पिता कर्णसिंहलाई सम्मेलनमा १० हजार रुपैयाँ नगद र कदरपत्र प्रदान गरियो । सैनिक कल्याणकारी निर्देशनालयका अनुसार सेनाले यस वर्ष एकै घरका चारभन्दा बढी सन्तान सेनामा हुने १५ जना अभिभावकलाई भूतपूर्व सैनिक सम्मेलनमा सम्मान गर्ने कार्यक्रम राखेको छ ।

प्रत्येक प्रधानसेनापतिको कार्यकालमा हुने भूतपूर्व सैनिक सम्मेलनमा चारभन्दा बढी सन्तान सैनिक सेवामा कार्यरतका अभिभावकलाई सम्मानस्वरुप १० हजार रुपैयाँ र कदरपत्र प्रदान गरिनेछ । सेनामा चार–चार जना छोरा भर्ति भएका तेजबहादुर रावल, अनुरुपा बुढा र खड्गबहादुर वली सुर्खेतमा आयोजित भूपू सैनिक सम्मेलनमा सेनाबाट सम्मानित भएका छन् ।