सोलुखुम्बु : आर्थिक वर्षको पहिलो ६ महिनामा २४ हजारभन्दा बढी विदेशी पर्यटकले खुम्बु क्षेत्रको भ्रमण गरेका छन् ।
चालु आर्थिक वर्षको साउनदेखि पुस मसान्तसम्ममा २४ हजार ७ सय ५२ जना विदेशी पर्यटक खुम्बु भित्रिएको खुम्बु पासाङ ल्हामु गाउँपालिका ३ मा रहेको टोकटोक चेकपोष्टले जनाएको छ ।
चेकपोष्टका कर्मचारी ङ्वाङ शेर्पाका अनुसार साउनमा ५ सय ५४ जना, भदौमा १ हजार ३ सय ७ जना र असोजमा ७ हजार ५ सय ३१ जना पर्यटकले खुम्बुको भ्रमण गरेका छन् ।
त्यसैगरी कात्तिकमा ९ हजार ८ सय ९० जना, मंसिरमा ३ हजार ८ सय ८७ जना र पुसमा १ हजार ७ सय ७७ जना विदेशीले खुम्बु क्षेत्रको भ्रमण गरेको गाउँपालिकाको तथ्याङ्कमा उल्लेख छ । जसमध्ये कात्तिक महिनामा ९ हजार ८ सय ९० जनाले भ्रमण गरेका छन् ।
अक्टोबर महिना खुम्बुका लागि पर्यटकीय सिजन भएकाले कात्तिक महिनामा पर्यटकको चाप बढी देखिएको जनाइएको छ । खुम्बु भ्रमण गर्ने पर्यटकमध्ये धेरैजसो अस्ट्रेलियन र अमेरिकन नागरिक रहेका छन् भने सबैभन्दा कम साईप्रसका नागरिक रहेको शेर्पाले जानकारी दिएका छन् ।