काठमाडौंका अति भीडभाड हुने ६९ स्थानमा सार्वजनिक शौचालय निर्माण हुने

काठमाडौंका अति भीडभाड हुने ६९ स्थानमा सार्वजनिक शौचालय निर्माण हुने

काठमाडौं : काठमाडौं महानगरपालिकाले सम्पदा क्षेत्र र मानिसको अत्यधिक भीड हुने स्थानलाई पहिलो प्राथमिकतामा राखेर सार्वजनिक शौचालय निर्माण गर्ने तयारी गरेको छ। नयाँ शौचालय निर्माणसँगै सञ्चालनमा रहेका सार्वजनिक शौचालयको गुणस्तर सुधार गर्नुपर्ने, पहुँच बढाउनुपर्ने, पेट्रोल पम्पलगायत सार्वजनिक सेवा प्रदायक निकाय र होटल, रेष्टुराँलगायत निजी तथा व्यावसायिक स्थान सञ्चालन भइरहेका शौचालयलाई स्तरोन्नति गरिने कामपाको उपप्रमुख हरिप्रभा खड्गी (श्रेष्ठ) ले जानकारी दिए।

शुक्रबार बसेको नगर कार्यपालिकाको बैठकले सामाजिक उत्तरदायित्वअन्तर्गत सार्वजनिक शौचालय निर्माणको काम अघि बढाउन उपप्रमुख श्रेष्ठलाई जिम्मेवारी दिएको थियो। चालु आर्थिक वर्षमा कामपाले सार्वजनिक शौचालय निर्माणका लागि तीन करोड रुपैयाँ विनियोजन गरेको छ।

पछिल्लो समय कामपाले शहरी योजना आयोग गठन गरी सार्वजनिक शौचालय निर्माणको लागि काम अघि बढाएको जनाए पनि हालसम्ममा निर्माणको लागि ढाँचा, लागत र स्थानको अध्ययन मात्र गरेको छ। कापमासँग सार्वजनिक निजी साझेदारीमा हुने कामका लागि छुट्टै ऐन छ।

त्यस ऐनमा व्यावसायिक सार्वजनिक सामाजिक उत्तरदायित्वमा हुने कामका विषयमा व्यवस्था नभएकाले कार्यदल गठन गरेर नीति मस्यौदा गर्न कार्यदल बनाइएको उपप्रमुख खड्गीको भनाइ थियो। सार्वजनिक शौचालय निर्माणका लागि कामपाले विगत पाँच वर्षदेखिनै यस विषय उठान गरेको भए पनि हालसम्म निर्माणको कामले गति लिएको छैन।