जित्नै पर्ने वाध्यतामा नेपालले भोलि दक्षिण अफ्रिकाको सामना गर्ने

जित्नै पर्ने वाध्यतामा नेपालले भोलि दक्षिण अफ्रिकाको सामना गर्ने

काठमाडौं। अमेरिका र वेस्टइन्डिजमा जारी आइसिसी टी ट्वान्टी विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘डी’ अन्तर्गत नेपालले भोलि टेस्ट मान्यता प्राप्त राष्ट्र दक्षिण अफ्रिकाको सामना गर्दैछ।

नेपाली टीममा सन्दीप लामिछाने समावेश हुने निश्चित जस्तै छ। सन्दीप आगमनले नेपाली खेलाडीको मनोबल बढेको छ भने नेपाली दर्शक थप उत्साहित छन्।

वेस्टइन्डिजको सेन्ट भिसेन्टस्थित अरनोस भाल रंगशालामा हुने उक्त खेल नेपाली समयअनुसार बिहान ५ः१५ बजे सुरु हुनेछ। नेपालले दक्षिण अफ्रिकासँग सिनियर टोलीमा पहिलोपटक खेल्न लागेको हो। नेपाललाई विश्वकपको दोस्रो चरणमा पुग्नका लागि पनि दक्षिण अफ्रिकाविरुद्धको खेल जित्नै पर्ने बाध्यता छ।

विश्वकपमा दक्षिण अफ्रिका समूह ‘डी’बाट सुपर आठमा पुगिसकेको छ। दक्षिण अफ्रिकाले यसअघि खेलेको तीन खेलमा तीनैमा जित हात पारेको छ। दक्षिण अफ्रिकाले श्रीलंका, बंगलादेश र नेदरल्यान्डसलाई पराजित गर्दै एक खेल अगावै सुपर आठमा पुगेको हो।

त्यस्तै, नेपालले यसअघि दुई खेल खेलेकामा एक खेलमा हार तथा एक खेल बराबरी खेलेको थियो। पहिलो खेलमा नेपाल नेदरल्यान्डसँग पराजित भएको थियो भने श्रीलंकाविरुद्धको खेल वर्षाका कारण रद्द भएको थियो, जसअनुसार दुवै टोलीले समान एक/एक अंक बाँडेका थिए।

नेपाली राष्ट्रिय टोलीका कप्तान रोहितकुमार पौडेलले दक्षिण अफ्रिकाविरुद्धको खेलमा आफ्नो टोलीले रामो खेल प्रदर्शन गर्ने विश्वास व्यक्त गरे। उनले दक्षिण अफ्रिका बलियो राष्ट्र भएकाले यस खेलमा जित निकाल्न सबै खेलाडी संगठित भएर खेल्ने बताए।

विश्वकपअन्तर्गत समूह ‘डी’मा दक्षिण अफ्रिका छ अंकका साथ शीर्ष स्थानमा छभने चार अंक बटुलेको बंगलादेश दोस्रो स्थानमा छ। त्यसैगरी, दुई अंकका साथ नेदरल्यान्डस तेस्रो स्थानमा रहँदा नेपाल एक अंकका साथ चौथो स्थानमा छ। समान एक अंक नै बटुलेको श्रीलंका अन्तिम स्थानमा छ।