काठमाडौँ । नेपाली कराते खेलाडी एरिका गुरुङ एसियाली खेलकुदको सेमिफाइनलमा पराजित भएकी छन् । आइतबार जापानको तोयोहाशी जिम्नाजियममा महिला ६८ केजीमाथिको सेमिफाइनलमा एरिकालाई काजकिस्तानकी सोफिया बेरुल्टसेभाले २–१ ले निराश बनाइन् ।
निकै कडा टक्कर दिए पनि एरिकाले खेल आफ्नो पक्षमा पार्न सकिनन् । एरिकाले यसअघिको संस्करणको फाइनलमा पनि बेरुल्टसेभासँगै हार व्यहोरेकी थिइन् । यसपालि एरिकाले क्वार्टरफाइनलमा जोर्डनकी यारा नासेरविरुद्ध ७–१ को सहज जित निकालेकी थिइन् ।
यस्तै, नेपाली खेलाडी राकेश मानन्धर र मीनबहादुर तामाङ पनि सेमिफाइनलमै रोकिए । राकेश कुमुते पुरुष ५५ केजीमुनिमा उज्वेकिस्तानका खुमोयुनमिर्जो खलिमोभसँग ७–० ले पराजित भए । मीन ६० केजीमुनिमा कुवेतका अब्दुल्लाह शाबानसँग १०–० ले हारे ।