काठमाडाैं। तेस्रो संस्करणको एसिसी प्रिमियर कप एकदिवसीय क्रिकेट प्रतियोगिताको फाइनलमा आज साविक विजेता नेपाल र युनाइटेड अरब इमिरेट्स (युएई) भिड्दैछन्।
मलेसियाको क्वालालम्पुरस्थित बायुमास ओभल मैदानमा हुने यो निर्णायक भिडन्त नेपाली समय अनुसार बिहान ७:१५ बजेदेखि सुरु हुनेछ।
दुवै टोली दोस्रोपटक प्रिमियर कपको उपाधि चुम्ने दाउमा मैदान उत्रिनेछन्। यसअघि सन् २०२३ मा नेपालमा सम्पन्न पहिलो संस्करणमा नेपालले युएईलाई सात विकेटले पराजित गर्दै उपाधि जितेको थियो। यस्तै सन् २०२४ को दोस्रो संस्करणमा भने युएईले आयोजक ओमानलाई हराउँदै उपाधिमाथि कब्जा जमाएको थियो।
यसपटक उपाधि जित्ने टोलीले मात्र आगामी एसिया कपमा आफ्नो स्थान पक्का गर्ने भएकाले यो फाइनल भिडन्त दुवै टोलीका लागि अत्यन्त महत्त्वपूर्ण मानिएको छ।
जारी प्रतियोगितामा नेपालले समूह चरण र सेमिफाइनल गरी पाँच खेलमध्ये चारमा जित र एकमा हारको नतिजा निकाल्दै फाइनल यात्रा तय गरेको हो। अर्कोतर्फ, युएई भने अहिलेसम्मका सबै खेल जित्दै अपराजित रहेर फाइनल पुगेको छ।
एकदिवसीय अन्तर्राष्ट्रिय (ODI) क्रिकेटमा नेपाल र युएईको भिडन्त इतिहास निकै प्रतिस्पर्धात्मक छ। हालसम्म भएका १९ खेलमा नेपालले ११ खेलमा जित निकालेको छ भने युएईले आठ खेल आफ्नो पक्षमा पारेको छ। पछिल्ला पाँच भेटमा पनि नेपालले तीन खेल जित्दै वर्चस्व कायम राखेको छ।
यसअघि गत मे महिनामा काठमाडौँमा भएको आइसिसी विश्वकप लिग-२ अन्तर्गतका दुवै खेलमा नेपालले युएईलाई पराजित गरेको थियो।