काठमाडौँ । एसीसी प्रिमियर कप एकदिवसीय अन्तर्राष्ट्रिय प्रतियोगिताको फाइनल खेलमा युनाइटेडट अरब इमिरेट्स (यूएई)विरुद्ध नेपाली ओपनिङ ब्याटर आसिफ शेखले शतक पूरा गरेका छन् ।
मलेसियाको क्वालालाम्पुरस्थित बायुमास ओभलमा जारी खेलमा उनले १०३ बलमा आठ चौका र चार छक्कासहित शतक पूरा गरेका हुन् । एकदिवसीय अन्तर्राष्ट्रियमा आसिफको यो दोस्रो शतक हो । उनको सानदार ब्याटिङको मद्दतमा नेपालले आज उत्कृष्ट प्रदर्शन गरिरहेको छ । नेपालले फाइनलमा देव खनाल र शेर मल्ललाई विश्राम दिएर अर्जुन कुमाल र सन्दीप जोरालाई मौका दिएको छ । जारी प्रतियोगितामा जोराले पहिलोपटक अवसर पाएका हुन् ।
आजको खेल जित्ने टोलीले अर्को वर्ष आयोजना हुने एसिया कपमा स्थान बनाउनेछ । नेपाल र यूएई दोस्रोपटक एसीसी प्रिमियर कपको उपाधि जित्ने लक्ष्यमा छन् । नेपाल सन् २०२३ र यूएई २०२४ को संस्करणको विजेता टोली हुन् ।
एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा हालसम्म नेपाल र यूएईले १९ खेलमा एकार्काको सामना गरेका छन् । यसमध्ये नेपालले ११ र यूएईले आठ खेलमा जित निकालेको विगत छ ।