भूकम्प प्रभावित क्षेत्रतर्फ लागे एमालेका ११ सय स्वयंसेवक

भूकम्प प्रभावित क्षेत्रतर्फ लागे एमालेका ११ सय स्वयंसेवक

काठमाडौँ । जाजरकोट र रुकुम पश्चिमका भूकम्प पीडितहरूको पुनः स्थापना र पुनर्निर्माण सहयोग गर्न नेकपा (एमाले) को स्वयंसेवक टोली काठमाडौँबाट प्रभावित क्षेत्र प्रस्थान गरेको छ ।  गत १७ कात्तिकमा जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भएर भूकम्प गएपछि जाजरकोट र रुकुम पश्चिमका अधिकांश नागरिक घरबाहिर छन् । 

पीडितहरूको पुनः स्थापना र पुनर्निर्माण सहयोग गर्न ९एमाले०केन्द्रीय टोली ३ मङ्सिर आइतबार त्यसतर्फ प्रस्थान गरेको हो । पार्टी केन्द्रीय सदस्य किरण पौडेलको संयोजक रहेको सो टोलीलाई शनिवारै एमाले अध्यक्ष केपी शर्मा ओलीले निर्माण सामग्री हस्तान्तरण गरेर बिदाइ गरेका थिए । 

बिदाइ कार्यक्रममा पार्टीका उपाध्यक्ष अष्टलक्ष्मी शाक्य, महासचिव शङ्कर पोखरेल, उपमहासचिव विष्णु रिमाल, स्थायी कमिटी सदस्य रघु पन्त, कृष्णगोपाल श्रेष्ठ लगायतका नेताहरूको उपस्थिति थियो ।  भूकम्पले १२ जिल्लामा २६ हजार ५२८ निजी घर पूर्ण रूपमा क्षतिग्रस्त भएका छन् । 

३५ हजार ३९५ घरमा आंशिक क्षति भएको छ । यो तथ्याङ्क जिल्ला प्रशासन र पालिकाले उद्धार तथा आपत्कालीन राहतपछि सङ्कलन थालेयताको हो । एक सय ५३ जनाको ज्यान जाने गरी १७ कात्तिकको मध्यराति गएको भूकम्पबाट भएको भौतिक क्षतिको तथ्याङ्क सङ्कलनकै क्रममा छ ।

भूकम्प पीडितहरूको पुनः स्थापना र पुनर्निर्माण सरकारले ठोस कदम चाल्न सकेको छैन । जाजरकोटमा चिसोबाट पाँचजना भूकम्पपीडितको ज्यान गइसकेको छ । 

टोलीमा २५ जना रहने गरी ४० अलग–अलग टोली निर्माण गरिने एमालेले जनाएको छ । ४० टोलीले भूकम्प प्रभावित क्षेत्रका अलग अलग स्थान छनोट गरी पीडितहरूको पुनः स्थापना र घर टहरा पुनर्निर्माण सहयोग गर्नेछ । टोलीले दुई साता काम गर्नेछ । पुनः स्थापना र पुनर्निर्माण नसकिए आवश्यकता अनुसार समय बढाएर सहयोग गर्ने एमालेले जनाएको छ । 

११ सय जना स्वयंसेवकमध्ये लुम्बिनी प्रदेशबाट २ सय, कर्णाली प्रदेशबाट १ सय ५०, सम्पर्क समन्वयबाट १ सय, सुदूरपश्चिम प्रदेशबाट ५०, बागमती प्रदेशबाट ५०, जना हुनेछन् । त्यसै गरी  गण्डकी प्रदेशबाट ५०, विशेष प्रदेशबाट, ५०, कोशी प्रदेशबाट ५० र मधेस प्रदेशबाट ५० जना खटिनेछन् । 

टोलीले बढी प्रभावित क्षेत्रमा पुगेर भग्नावशेष हटाउने र आवश्यकता अनुसार घर टहरा निर्माण गर्नेछ । चिसो बढेसँगै दीर्घ रोगी, सुत्केरी तथा गर्भवती महिला, वृद्ध वृद्धा र बालबालिका समस्यामा परेका छन् ।

उनीहरूको पुनः स्थापनालाई केन्द्रित गरेर भग्नावशेष व्यवस्थापन सहित पुन निर्माण अभियान सुरु गरिने संयोजक किरण पौडेलले जानकारी दिए । पौडेलले ११ सय स्वयंसेवकमध्ये जाजरकोटमा ७ सय र रुकुम पश्चिममा ४ सय स्वयंसेवक खटिने बताए ।