डेंगु संक्रमणको ‘हटस्पट’ बन्दै धरान, कोभिड अस्पताललाई डेंगु उपचार केन्द्र बनाइयो

डेंगु संक्रमणको ‘हटस्पट’ बन्दै धरान, कोभिड अस्पताललाई डेंगु उपचार केन्द्र बनाइयो

धरान। पछिललो समय देशभर डेंगु संक्रमण बढ्दो छ । डेंगु संक्रमणका बिरामीको चाप बढेसँगै ‘हटस्पट’ बनेको धरानमा कोभिड अस्पताललाई डेंगु उपचार केन्द्र बनाइएको छ । कोरोना महामारीको दोस्रो लहरमा सरकारले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान परिसरभित्र अलग्गै कोभिड अस्पताल संचालनमा ल्याएको थियो । बन्दप्राय रहेको सोही भौतिक पूर्वाधारलाई डेंगु रोगीको उपचार गर्न प्रयोग गरिएको हो । 

परिसरभित्रकै कोभिड अस्पतालमा तत्काललाई ३० बेडको छुट्टै डेंगु वार्डको व्यवस्थापन गरिएको छ । दैनिक रूपमा धरानमा संक्रमितको संख्या थपिने र  इमर्जेन्सीमा समेत अत्याधिक चाप भएपछि अलग वार्ड संचालनमा ल्याउनु परेको प्रतिष्ठानका सह–प्रवक्ता डा चुणामणि पोखरेलले जानकारी दिए ।  

बिरामीले सहजै उपचार सेवा पाउन सकुन् र अन्य रोगका बिरामीहरूको उपचार सेवामा पनि असर नपरोस् भन्ने उद्देश्यले छुट्टै डेंगु वार्डको व्यवस्था गरिएको पोखरेलले बताए ।

प्रतिष्ठानको इमर्जेन्सी र ओपीडीमा आएमध्ये सिकिस्त बिरामीहरूलाई आईसीयू,  इमर्जेन्सी र अन्य वार्डहरूमा उपचारको प्रबन्ध हुनेछ । त्यसबाहेक स्वास्थ्यकर्मीको प्रत्यक्ष निगरानीमा राख्नुपर्ने बिरामीहरूलाई छुट्टै वार्डमा भर्ना गरी उपचार गरिने प्रतिष्ठानले जनाएको छ ।

कोइरालाले भने, “हाल कोभिड अस्पतालमा सञ्चालनमा ल्याइएको डेंगी वार्डमा बिरामीको चाप र आवश्यकतालाई मध्यनजर गरी भविष्यमा बेड क्षमता विस्तार हुनेछ । सघन उपचार सेवा आइसीयु समेत सञ्चालन गरिने छ ।” प्रतिष्ठानले विज्ञप्तिमार्फत सर्वसाधारणको लागिसमेत डेंगी वार्ड संचालनमा ल्याइएको जानकारी दिएको छ ।

प्रतिष्ठानमा आएकामध्ये करिब ७६ प्रतिशतमा डेंगु पुष्टि हुने गरेको छ । डेंगु क्लिनिकमा  ८१९ जनाको परीक्षण गर्दा ६१५ जनामा डेंगी संक्रमण देखिएको थियो । असार अन्तिम सातादेखि प्रतिष्ठानमा डेंगी परीक्षण गर्नेहरूको संख्या बढेको हो । 

सुनसरीको धरान उपमहानगरपालिका डेंगु संक्रमणको हटस्पट बनेको छ । उपमहानगरपालिका क्षेत्रमा हालसम्म डेंगीबाट चारजनाको मृत्यु भएको छ । 

कोसी प्रदेश स्वास्थ्य निर्देशनालय धनकुटाका अनुसार प्रदेशका ११ जिल्लामा डेंगु संक्रमित फेला परेका छन् । धरानमा दुई वर्षअघि पनि डेंगुको अधिक संक्रमण फैलिएको थियो ।