सोलुखुम्बुको हुङ्कु खोलामा भीषण पहिरो खसेर बाँध बन्यो: दुधकोशी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन अपिल

सोलुखुम्बुको हुङ्कु खोलामा भीषण पहिरो खसेर बाँध बन्यो: दुधकोशी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन अपिल

काठमाडाैं। सोलुखुम्बुको महाकुलुङ गाउँपालिकास्थित गुदेलमा पहिरो खसेर हुङ्गा (हुङ्कु) खोला थुनिएको छ। खोलामा माथिबाट निरन्तर खसिरहेको पहिरोले करिब १५ मिटर अग्लो प्राकृतिक बाँध (ड्याम) बनाएको छ। पहिरो खस्ने क्रम अझै जारी रहेकाले सो ड्याम जुनसुकै क्षण फुट्न सक्ने र तल्लो तटीय क्षेत्रमा ठूलो बाढी आउन सक्ने उच्च जोखिम बढेको छ।

जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुलाई उद्धृत गर्दै जल तथा मौसम विज्ञान विभागअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले आपत्कालीन सूचना जारी गरी हुङ्गा खोला र दुधकोशी नदी तटीय क्षेत्रका बासिन्दाहरूलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।

महाशाखाले अर्को सूचना जारी नभएसम्मका लागि नदी आसपासका बासिन्दालाई तत्काल सुरक्षित स्थानमा सर्न विशेष अनुरोध गरेको छ भने स्थानीय प्रशासन र सुरक्षा निकायले सो क्षेत्रको स्थितिलाई निरन्तर निगरानीमा राखेका छन्।