ताप्लेजुङ। ताप्लेजुङको मेरिङदेन गाउँपालिका–३ स्थित दोभान बजारमा बिहीबार दिउँसो भीषण आगलागी हुँदा १० वटा घर पूर्ण रूपमा जलेर नष्ट भएका छन्। आगलागीका कारण १७ घरपरिवार विस्थापित बनेका छन्।
जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका अनुसार आगलागीमा परी लाक्पाचुङ शेर्पा र भीम लिम्बूका दुई–दुईवटा घर जलेका छन् भने चन्द्रप्रसाद पौडेल, यामबहादुर आङबुहाङ, घनश्याम खरेल, राजु शेर्पा, शुक्रवीर लिम्बू र राजेन्द्र पौडेलको एक–एकवटा घर नष्ट भएका हुन्। यस्तै भीम लिम्बूको घरमा डेरा गरी बस्दै आएका अनिता विक, सुमन लिम्बू, लाक्पा शेर्पा, आरती लिम्बू र श्याम चोङवाङको धनमालसमेत आगलागीमा परेर पूर्ण रूपमा क्षति भएको छ।
आगलागीको मुख्य कारण अझै खुल्न सकेको छैन। आगलागी लगत्तै स्थानीयवासी, सुरक्षाकर्मी तथा उपलब्ध उद्धार साधनको प्रयोग गरी आगो नियन्त्रणमा लिइएको थियो। जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी नायब उपरीक्षक कमल बजगाईंले आगलागीबाट भएको भौतिक क्षतिको विस्तृत विवरण संकलन भइरहेको र थप अनुसन्धान जारी रहेको जानकारी दिएका छन्।