एमाले महाधिवेशनलाई ४ हजार बस रिजर्भ

एमाले महाधिवेशनलाई ४ हजार बस रिजर्भ

काठमाडाैं । नेकपा एमाले महाधिवेशनको लागि ४ हजार बस बुकिङ भइसकेका छन्। एमालेले ६ हजार बस आवश्यक पर्नेमा ४ हजार मात्रै उपलब्ध भएको जनाएको छ। 

५ लाख जनसहभागिता गराउने गरी एमालेले मंसिर १० गते चितवनमा महाधिवेशन उद्घाटन गर्दैछ। चितवन आसपासका जिल्लाबाट जनपरिचालन गरी जनसहभागिता बढाउने तयारी गरेको पार्टीका बागमती प्रदेशका अध्यक्ष आनन्द पोखरेलले  जानकारी दिए।

पोखरेलले बागमती, प्रदेश २, लुम्बिनी र गण्डकीबाट बढी सहभागिता गराउने र बाँकी प्रदेशबाट स्वस्फुर्त रुपमा सहभागी गराउने योजना रहेको बताए।  ‘चितवनसहित बागमती प्रदेशबाट करिब ३ लाख आउँछन्। प्रदेश २ बाट १ लाख मानिस आउँदै छन्’, पोखरेलले भने, ‘लुम्बिनीबाट ७५ हजार, गण्डकीबाट ५० हजार र प्रदेश १ बाट २५ देखि ३० हजार मानिस आउँछन्।’

उनले सुदूरपश्चिम र कर्णाली प्रदेशबाट स्वस्फुर्त रुपमा कति आउने एकीन नभएको उल्लेख गरे।  एमालेका अध्यक्ष केपी शर्मा ओलीले मंगलबार सम्पादकहरुसँग कुरा गर्दै सवारीसाधनले बोक्न सक्ने मानिस महाधिवेशनमा उतार्ने उल्लेख गरेका छन्।