काठमाडौं । सरकारले पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई ‘जेनजी’ (Gen Z) समूहबाट नभई कुनै अपरिचित समूहबाट सुरक्षा थ्रेट आएकाले सुरक्षित स्थानमा लगिएको स्पष्ट पारेको छ।
मंगलबार सिंहदरबारस्थित सञ्चार मन्त्रालयमा पत्रकारहरूसँग कुराकानी गर्दै सरकारका प्रवक्ता सस्मित पोखरेलले जबरालाई फोन र म्यासेजमार्फत अज्ञात समूहबाट धम्की आएको जानकारी दिए।
सञ्चारमाध्यमहरूमा 'जेनजी' समूहबाट खतरा रहेको भन्ने खबरहरू आएको सन्दर्भमा प्रष्ट पार्दै प्रवक्ता पोखरेलले भने, "जेनजी वा अन्य कुनै निश्चित समूहबाट थ्रेट भएको कुरा सरकार वा प्रहरीका तर्फबाट भनिएको छैन। अपरिचित समूहबाट फोन र टेक्स्ट म्यासेजमार्फत थ्रेट आएपछि नै प्रहरीले उहाँलाई सुरक्षित स्थानमा पुर्याएको हो।"
प्रवक्ता पोखरेलका अनुसार प्रहरीले जबरालाई सुरक्षित ठाउँमा लगिसकेपछि पनि परिवारका सदस्यहरूबाट थप सुरक्षा चुनौती रहेको भन्दै चासो व्यक्त भएको थियो। सोही आधारमा सरकारले पूर्वप्रधानन्यायाधीशको सुरक्षा प्रबन्धलाई थप मजबुत बनाएको दाबी गरेको छ।