यमपञ्चकको दोस्रो दिन : आज काग र कुकुर तिहार मनाइँदै

यमपञ्चकको दोस्रो दिन : आज काग र कुकुर तिहार मनाइँदै

काठमाडौं । यमपञ्चकको दोस्रो दिन आज काग र कुकुर तिहार । यस वर्ष काग र कुकुर तिहार एकैदिन पूजा गरि मनाइदैछ । हिजो बेलुकी यमदीपदान सुरु भएपनि तिहार भने आजदेखि सुरु भएको पञ्चांग निर्णायक समितिले जनाएको छ ।

आज बिहान कागलाई निमन्त्रणा गरेर खाने कुरा दिएर काग तिहार मनाइँदैछ । कागलाई यमदूतका रुपमा पूजा गर्ने गरिन्छ । काग अत्यन्त चलाख र सर्वभक्षी प्राणी मानिन्छ । काग यमराजको अत्यन्त प्रिय भक्त पनि हो । युगान्तरमा कागले सन्देश र सूचना प्रभा गर्ने काम गरेकाले अहिले पनि कागलाई पूजा गर्ने चलन छ ।

त्यस्तै, आजै कुकुरको पनि पूजा गरिदैछ । आज बिहान ७:१४ बजेपछि चतुर्दशी तिथि लाग्ने भएकाले त्यसपछि कुकुरको पूजा गरी मीठा मीठा खानेकुरा खान दिनुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । कुकुरको पूजा गरेर मीठो खानेकुरा खान दिएर कुकर तिहार मनाइँदै छ । कात्तिक कृष्ण चतुर्दशीका दिन कुकुरको पूजा गरी मीठो खान दिए यमलोकको यात्रा गर्दा यमराजको पहरेदारका रूपमा मूलढोकामा बस्ने श्याम र सबल नाम गरेका कुकुरले सहजरूपमा बाटो छोडिदिने धार्मिक विश्वास छ ।

घरमा कुकुर पाल्नाले मुटु र मधुमेहजस्ता रोग नलाग्ने आधुनिक वैज्ञानिक मान्यता छ । वैवस्वत मन्वन्तर कुलमा जन्मिएको कुकुर अहिले लोकप्रिय घरपालुवा जनावरका रूपमा समेत स्थापित भएको छ । काग र कुकुरलाई यमदूतका रूपमा मानिन्छ ।

कात्तिक कृष्ण चतुर्दशीकै दिन मनाइने नरक चतुर्दशी पर्व भने भोली बिहान मनाउनुपर्ने पञचाङग निर्णायक समितिले जनाएको छ ।