सहमति गरौं, झगडा गरेर हुँदैनः प्रधानमन्त्री देउवा

सहमति गरौं, झगडा गरेर हुँदैनः प्रधानमन्त्री देउवा

फिदिम । प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीभित्र झगडा गर्न नहुने बताएका छन् । उनले हार्दिकता र सहमतिबाट नै एउटा टुंगोमा पुग्न सकिने भन्दै झगडा गरेर केही उपलब्धी हासिल नहुने बताएका छन् । 

पाँचथरको फाल्गुनन्द गाउँपालिकामा शनिबार आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले भने, ‘पार्टीभित्र सकभर सहमति गरौं, सहमति नभए लोकतान्त्रिक अभ्यास गरौं । चुनाव हारेकोले जितेकालाई काम गर्न दिनुपर्छ, झगडा गरेर हुँदैन ।’

प्रधानमन्त्री देउवाले पार्टीको आन्तरिक अधिवेशन हार्दिकताका साथ सम्पन्न गर्नुपर्ने बताए । उनले पार्टीको महाधिवेशन तोकिएको मितिमा नभई २/४ दिन तलमाथि भएर केही फरक नपर्ने धारणा पनि व्यक्त गरे । महाधिवेशन पर सार्ने पक्षमा आफू नभएको भएपनि आन्तरिक तयारी अपुग भए २/४ दिन पर सर्दैमा केही फरक नपर्ने बताए । 

प्रधानमन्त्री देउवाले विपदमा परेका जनतालाई सरकारले हेर्छ भन्दै हालै आएको बेमौसमी वर्षापछिको बाढी पहिरो र डुवानमा परी मृत्यु भएकाको परिवारलाई सरकारले दुई लाख उपलब्ध गराउने तथा बाढी, पहिरो र डुबानबाट प्रभावित भएकालाई पनि उचित राहत र सहयोगको व्यवस्था गर्ने बताए । उनले बाढी पहिराे पीडितहरूलाई यस अघि नै सरकारले राहत घोषणा गरेकोमा सरकारले अल्पकालीन, दीर्घकालीन गरी थप राहत प्याकेज ल्याउने तयारी गरेकाे उनले बताए ।  

प्रधानमन्त्री देउवाले पाँचथर र इलामका बाढी, पहिरोले क्षति पुर्याएका क्षेत्रको स्थलगत निरीक्षण गरेका थिए ।