स्थायी कमिटी बैठकको मोडालिटी तयार पार्न बालुवाटारमा ओली पक्षका नेताहरूको छलफल

स्थायी कमिटी बैठकको मोडालिटी तयार पार्न बालुवाटारमा ओली पक्षका नेताहरूको छलफल

काठमाडौं। नेकपा (एमाले)को संयुक्त स्थायी कमिटी बैठकका लागि अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली पक्षीय नेताहरू तयारीमा जुटेका छन्। प्रधानमन्त्रीनिवास बालुवाटारमा मंगलबार बिहानैदेखि ओली पक्षीय शीर्ष नेताहरूले छलफल गरिरहेका छन्। 

बालुवाटार स्रोतका अनुसार छलफलमा महासचिव ईश्वर पोखरेल, नेताहरू सुवास नेम्वाङ, विष्णु पौडेल, प्रदीप ज्ञवाली र प्रधानमन्त्रीका सल्लाहकारलगायत रहेका छन्। अध्यक्ष ओलीले आह्वान गरेको एकता प्रस्ताव अनुरुप स्थायी कमिटी बैठक बोलाउने तयारी गरिएको हो। बुधबार, असार २ गते नै स्थायी कमिटी बोलाउने गरी तयारी भइरहेको छ। तयारी नपुगेको खण्डमा केही दिन पर धकेलिने सम्भावना पनि रहेको छ। 

सर्वोच्च अदालतले पेशी तोकेको असार ९ गते अघि नै एकताका विषयमा टुंगोमा पुग्ने गरी ओली पक्षले गृहकार्य गरिरहेको छ। एकता प्रक्रिया अघि बढ्दा नेपाल पक्षले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउनेगरी सर्वोच्च अदाललाई बुझाएको हस्ताक्षर फिर्ता गर्नुपर्नेछ।  

ओली पक्षको आन्तरिक तयारीले एउटा खाका तयार पारेपछि वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका नेताहरूसँग छलफल गर्ने तयारी भइरहेको छ। नेपाल पक्षबाट वार्तामा सहभागी भइरहेका नेताहरूसँग ओली पक्षका केही नेताहरूले छलफल गर्नेछन्। 

दुवैको छलफलबाट दुईटै पक्ष उपस्थित हुन सक्ने साझा मोडालिटी र एजेण्डा तयार गरिने बताइएको छ।