प्रतिनिधिसभाद्वारा स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी विधेयक स्वीकृत

प्रतिनिधिसभाद्वारा स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी विधेयक स्वीकृत

काठमाडौँ। प्रतिनिधिसभाको बैठकले ‘स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी (दोस्रो संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस् भन्ने प्रस्ताव’ सर्वसम्मतिले स्वीकृत गरेको छ।

बैठकमा स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले प्रस्तुत गर्नुभएको उक्त प्रस्ताव स्वीकृत भएसँगै समयसापेक्ष कानुन निर्माणको बाटो खुलेको छ। मन्त्री मेहताका अनुसार विधेयकले अध्ययनरत चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि हुने आक्रमण र हातपातको अन्त्य गर्ने लक्ष्य राखेको छ।

विधेयकमा कैद र जरिवाना दुवै सजाय समेटिनुका साथै स्वास्थ्यकर्मीका काम-कारबाहीप्रति कुनै गुनासो भएमा त्यसको सुनुवाइका लागि उचित प्रबन्धसमेत मिलाइएको छ।

सैद्धान्तिक छलफलमा भाग लिँदै सांसद खुश्बु ओलीले स्वास्थ्यकर्मीमाथिको आक्रमणलाई सिङ्गो स्वास्थ्य सेवामाथिको प्रहारका रूपमा चित्रण गरिन् ।

त्यस्तै सांसद भरत गिरीले बिरामी बचाउने हातहरूले डराएर काम गर्नुपर्ने अवस्थाको अन्त्य हुनुपर्ने र धम्की तथा आक्रमण सह्य नहुने बताउनुभयो। सांसद पुकार बमले केही समयअघि वीरगञ्जस्थित नारायणी अस्पतालमा चिकित्सकमाथि भएको हातपातको घटना स्मरण गराउँदै विधेयकको औचित्य पुष्टि गरे।

सांसदहरू मञ्जु भुसाल, करिश्मा कठरिया, तोशिमा कार्की, रमेशकुमार मल्ल लगायत अन्य थप्रै सांसदहरूले पनि स्वास्थ्यकर्मीको सुरक्षा सुनिश्चित गर्दै अस्पतालमा हुने जनगुनासोको सही सम्बोधन हुनुपर्नेमा जोड दिए।

छुटाउनुभयो कि ?