काठमाडौँ । नेपाली कांग्रेसको संस्थापन इतर पक्षले १५औँ महाधिवेशनमा केन्द्रीय सभापति पदमा उम्मेदवारी दिन कम्तीमा सात जना प्रस्तावक र सातजना समर्थकको हस्ताक्षर अनिवार्य गरेको छ ।
संस्थापन इतर पक्षले १५औँ महाधिवेशनका लागि जारी गरेको निर्वाचन निर्देशिकामा सभापति पदका उम्मेदवारले सातजना प्रस्तावक र सातजना समर्थकको हस्ताक्षरसहित उम्मेदवारी दर्ता गर्नुपर्ने व्यवस्था गरिएको हो ।
उपसभापति, महामन्त्री र सहमहामन्त्री पदका उम्मेदवारका लागि भने कम्तीमा पाँचजना प्रस्तावक र पाँचजना समर्थक आवश्यक पर्ने व्यवस्था छ । अन्य पदका उम्मेदवारका लागि एक जना प्रस्तावक र एकजना समर्थक भए पुग्ने निर्देशिकामा उल्लेख छ ।
निर्देशिकाले कांग्रेसका विभिन्न तहका निर्वाचनमा युवा तथा महिलाको प्रतिनिधित्व सुनिश्चित गर्ने व्यवस्था पनि गरेको छ । वडा अधिवेशनले क्षेत्रीय अधिवेशनका लागि प्रतिनिधि छनोट गर्दा १८ देखि २८ वर्ष उमेर समूहका कम्तीमा एक महिला र एक जना युवा तथा ४० वर्षमुनिका कम्तीमा दुई जनालाई समावेश गर्नुपर्ने व्यवस्था गरिएको छ ।
त्यस्तै, प्रदेशसभा क्षेत्रीय अधिवेशनबाट प्रदेश अधिवेशन प्रतिनिधि छनोट गर्दा १८ देखि २८ वर्ष उमेर समूहका कम्तीमा एक महिलासहित दुई जना थप गर्नुपर्ने व्यवस्था छ । ४० वर्षमुनिका युवा तथा महिलाको सहभागितालाई पनि निर्देशिकाले अनिवार्य गरेको छ।
प्रतिनिधिसभा क्षेत्रीय अधिवेशनले केन्द्रीय महाधिवेशन प्रतिनिधि छनोट गर्दा १८ देखि २८ वर्ष उमेर समूहका कम्तीमा दुई जना महिला थप गर्नुपर्ने व्यवस्था गरिएको छ । साथै, ४० वर्षमुनिका कम्तीमा दुई जना युवा तथा एक महिलाको सहभागिता सुनिश्चित गर्नुपर्ने निर्देशिकामा उल्लेख छ ।
सबै तहका कार्यसमितिमा पनि १८ देखि २८ वर्ष उमेर समूहका कम्तीमा दुई जना, जसमा कम्तीमा एक महिला हुनुपर्ने व्यवस्था गरिएको छ । त्यस्तै, ४० वर्षमुनिका कम्तीमा दुई जना युवा, जसमा कम्तीमा एक महिला हुनुपर्ने व्यवस्था छ ।
निर्देशिकामा महिला, पेसाकर्मी, श्रमिक, बुद्धिजीवी, उद्योग–व्यवसायी, लैंगिक अल्पसंख्यक, पिछडिएको वर्ग तथा दलित महिलालगायतको प्रतिनिधित्व सुनिश्चित गर्ने समावेशी व्यवस्था पनि गरिएको छ ।