काठमाण्डौं : नाइजेरियामा आतंकवादी समूह स्लामिक स्टेट (आईएस ) ले ११ जनाको घाँटी रेटेर हत्या गरेको छ । आईएसले यसै वर्षको अक्टुबर महिनामा आफ्ना नेता अबु बकर अल बगदादी र प्रवक्ता अबुल हसन अल मुहाजिर सिरियामा मारिएको घटनाको बदलास्वरुप उनीहरुको हत्या गरेको जनाएको छ ।
आईएसले आफ्नो समाचार एजेन्सी अमाकमार्फत् एक भिडियो सार्वजनिक गर्दै ११ जनाको हत्या गरेको जानकारी दिएको हो । ५६ सेकेण्डको उक्त भिडियोमा एक व्यक्तिलाई गोली हानेर ढालिएको छ । बाँकी १० जनालाई धकेलेर खाल्डोमा खसाइएको छ र त्यहीँ घाँटी रेटेर हत्या गरिएको भिडियोमा देखीएको छ ।
हत्या गरिएकाहरु सबै पुरुष रहेका छन् । उनीहरुको परिचय भने खुलेको छैन । आईएसका अनुसार उनीहरुलाई उत्तरपूर्वी बोर्नो राज्यबाट नियन्त्रणमा लिइएको थियो । अमेरिकी विशेष फौजको कारबाहीमा गत २६ अक्टुबरमा आईएस नेता अल बगदादीको मृत्यु भएको थियो । घटनापछि आईएसले बदला लिनका लागि नयाँ अभियान सुरु गर्ने घोषणा गरेको थियो ।