एक दशकभन्दा लामो सैन्य अभियान अन्त्य गर्दै इराकबाट हट्दै अमेरिकी सेना

एक दशकभन्दा लामो सैन्य अभियान अन्त्य गर्दै इराकबाट हट्दै अमेरिकी सेना

काठमाडाैं। एक दशकभन्दा बढी समयपछि अमेरिकाले इराकमा आफ्नो सैन्य अभियान अन्त्य गर्दैछ। इस्लामिक स्टेट (आईएस) लाई पराजित गर्न महत्त्वपूर्ण भूमिका खेलेको अन्तर्राष्ट्रिय गठबन्धन पछिल्ला वर्षहरूमा भने इराकभित्र राजनीतिक तथा सुरक्षा तनावको कारण बनेको थियो।

सन् २०१४ मा इस्लामिक स्टेट समूहले इराक र सिरियाको ठूलो भूभाग कब्जा गरेपछि त्यसविरुद्ध लड्न अमेरिकी नेतृत्वको गठबन्धन सेना दुवै देशमा प्रवेश गरेको थियो। उक्त समूहले त्यस क्षेत्रमा ठूलो सङ्ख्यामा सर्वसाधारणको हत्या गर्नुका साथै व्यापक हिंसात्मक गतिविधि मच्चाएको थियो।

इराकमा सन् २०१७ र सिरियामा सन् २०१९ मा इस्लामिक स्टेट पराजित भए पनि त्यसका बाँकी सदस्यहरू विरुद्ध कारबाही जारी राख्न गठबन्धन सेना इराकमै रहँदै आएका थिए।

यसैबीच, इराक र अमेरिकाबीच सन् २०२४ मा गठबन्धनको सैन्य अभियान अन्त्य गर्ने सहमति भएको थियो। सो सहमतिपछि गठबन्धनका सैनिकहरूले देशभरका विभिन्न सैन्य बेसहरू छाड्दै आफ्नो उपस्थितिलाई उत्तरी कुर्दिस्तान क्षेत्रमा मात्र सीमित गरेका थिए। अब त्यहाँबाट पनि उनीहरूको अन्तिम फिर्ती बुधबार हुने तय भएको छ।

इराकी सरकारले गठबन्धन सेना पूर्ण रूपमा फिर्ता भएपछि इरानसमर्थित सशस्त्र समूहहरूले आफ्ना हतियार कायम राख्न प्रस्तुत गर्दै आएको ओझेल पर्ने वा त्यसको औचित्य समाप्त हुने अपेक्षा गरेको छ।

इराकका प्रधानमन्त्री अली अल–जैदीले गठबन्धन सेना फिर्ता भएको भोलिपल्ट अर्थात् अक्टोबर १ लाई ‘सम्प्रभुता दिवस’का रूपमा मनाउनुपर्ने विचार व्यक्त गरे। सरकारका कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाका प्रमुखहरूले पनि गठबन्धनको यो फिर्तीले इराकको पूर्ण सम्प्रभुतातर्फको यात्रा अघि बढेको उल्लेख गरे।

सरकारले राज्यको नियन्त्रणबाहिर रहेका हतियारको विषय व्यवस्थापन गर्नुपर्नेमा विशेष जोड दिएको छ। प्रधानमन्त्री जैदीले सशस्त्र समूहहरूले आफ्ना हतियार राज्यलाई बुझाउनुपर्ने अडान दोहोर्‍याउँदै आएका छन्। तर केही शक्तिशाली समूहहरूले भने हतियार त्याग्न अस्वीकार गरिरहेका छन्।

ती समूहहरूले विदेशी सेना फिर्ता हुनुका साथै अमेरिकाको राजनीतिक तथा आर्थिक हस्तक्षेपसमेत पूर्ण रूपमा अन्त्य हुनुपर्ने माग राखेका छन्। शक्तिशाली सशस्त्र समूह काताइब हिज्बुल्लाहले अमेरिकी नेतृत्वको सेना फिर्ता हुनु पूर्ण राष्ट्रिय सम्प्रभुतातर्फको सुरुवात भएको टिप्पणी गर्‍यो। तर उसले सरकारलाई कडा चेतावनीसमेत दिएको छ।

इस्लामिक स्टेटविरुद्धको युद्धका क्रममा अमेरिकी नेतृत्वको गठबन्धन र इरानसमर्थित सशस्त्र समूह दुवैले एउटै शत्रुविरुद्ध सहकार्यजस्तै गरी लडेका थिए। तर इस्लामिक स्टेट पराजित भएसँगै इराकमा विदेशी सेनाको उपस्थितिलाई लिएर दुवै पक्षबीच असमझदारी र विवाद बढ्दै गएको थियो।

त्यसपछि इरान र उसका समर्थित समूहहरूले अमेरिकी सेनालाई हटाउने उद्देश्यले ड्रोन तथा क्षेप्यास्त्र आक्रमण तीव्र पारेका थिए। त्यसको जवाफमा अमेरिकी सेनाले पनि विभिन्न स्थानमा प्रतिकारात्मक कारबाही चलाएको थियो।

यसैबीच, कुर्दिस्तान क्षेत्रको राजधानी एरबिलका बासिन्दा भने गठबन्धन सेना फिर्ता भएपछि सम्भावित ड्रोन आक्रमणबाट आफ्नो सुरक्षा कसरी हुन्छ भन्ने विषयमा चिन्तित देखिएका छन्। गठबन्धनले यसअघि नै यसै वर्ष सिरियाबाट पनि आफ्नो सेना फिर्ता गरिसकेको छ।

छुटाउनुभयो कि ?