धरौटीमा छाड्न माग गर्दै दीप बस्न्यातले गुहारे सर्वोच्च

धरौटीमा छाड्न माग गर्दै दीप बस्न्यातले गुहारे सर्वोच्च

काठमाडौं । बालुवाटारस्थित ललितानिवासको ११३ रोपनी सरकारी जग्गा कीर्ते गरेको आरोपमा थुनामा रहेका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख आयुक्त दीप बस्न्यात सर्वोच्च पुगेका छन्। बस्नेत पुनरावेदन रिट निवेदन लिएर शुक्रबार सर्वोच्च पुगेका हुन्।

पुर्पक्षका लागि थुनामा रहेका बस्न्यात आफूलाई थुनामा पठाउने विशेष अदालतको निर्णयविरुद्व सर्वोच्च पुगेका हुन्। विशेष अदालतले उनलाई धरौटीमा नछोडी थुनामा पठाउने आदेश थियो। मंसिर १८ गते विशेष अदालत उपस्थित भएका बस्न्यातसँग ४ घन्टा बयान लिएपछि अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको थियो।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बालुवाटारको ११३ रोपनी सरकारी जग्गा कीर्ते गरी व्यक्तिको नाममा दर्ता गरेको अभियोगमा ४ मन्त्री र तीन पूर्वसचिवसहित १ सय १० जनाविरुद्ध २०७६ माघ २२ गते भ्रष्टाचार मुद्दा दायर गरेको थियो। अख्तियारकै पूर्व प्रमुख आयुक्त, भूमिसुधार तथा मालपोतका कर्मचारी, जग्गा खरिदबिक्री गर्नेहरूविरुद्ध पनि मुद्दा दायर भएको थियो।

मुद्दा दायर गरिएकामा नेपाली कांग्रेसका नेता गच्छदार तथा भाटभटेनीका सञ्चालक मीनबहादुर गुरुङसमेत थिए। विशेष अदालतले उनीहरुलाई फागुनमै अदालत उपस्थित हुन म्याद जारी गरेको थियो। लकडाउन खुकुलो भएसँगै अदालत खुल्न थालेपछि केही आरोपी अदालतमा उपस्थित भएपनि गच्छदारसहितका केही भिआइपी भने उपस्थित भएका छैनन्।