नागरिकता विधेयकको भारतभर विरोध प्रर्दशन

नागरिकता विधेयकको भारतभर विरोध प्रर्दशन

काठमाडौं : भारतमा नागरिकता विधेयकको विरोधमा भारतको राजधानी दिल्लीसहित देशभर विरोध प्रदर्शन जारी रहेको छ । दिल्लीको जामिया मिल्लिया विश्वविद्यालयमा प्रहरीले चलाएको गोली लागेर तीन जना प्रदर्शनकारी घाइते भएका छन् ।

कयौं जिल्लाहरुमा इन्टरनेट सेवासमेत बन्द गरिएको छ । उग्र प्रदर्शन जारी रहेपछि उत्तर प्रदेशमा सुरक्षाकर्मीहरुलाई ‘हाई अलर्ट’मा राखएको छ । नागरिकता संशोधन कानुनविरुद्ध उत्तर प्रदेशको अलिगढ र लखनउबाट सुरु भएको उग्र प्रदर्शनको असर राज्यभर फैलिएको छ । मउ जिल्लामा सोमबार साँझ स्थानीयबासीले हिंस्रक प्रदर्शन गरेका थिए ।

यस्तै प्रधानमन्त्री नरेन्द्र मोदीले चुनाव जितेको वाराणसीमासमेत विधेयकको समर्थक र विरोधीबीच झडप भएको छ । बिभिन्न शहरहरुमा आज पनि प्रदर्शन जारी छ । प्रदर्शनकारीले सवारी साधन, प्रहरी चौकीहरुमा तोडफोड तथा आगजनी गरेका छन् । प्रदर्शन नियन्त्रण बाहिर जान थालेपछि मउ जिल्ला प्रशासनले अनावश्यक रुपमा घर बाहिर ननिस्कन चेतावनी जारी गरेको छ । कर्फ्यू जारी नगरे पनि अवस्था कर्फ्यू लगाएको जस्तै रहेको पत्रकार विरेन्द्र चौहानले बताएका छन् । केही स्थानमा प्रशासनको चेतावनीको बेवास्ता गर्दै प्रदर्शन जारी छ ।

प्रदर्शन नियन्त्रणमा लिने प्रयासमा प्रहरीले अश्रुग्यास प्रहार गरेको छ । बनारस हिन्दु विश्वविद्यालय र इलाहावाद विश्वविद्यालयमा समेत नागरिकता विधेयकको विरोध गर्दै प्रदर्शन भएको छ । प्रदर्शनपछि विश्वविद्यालय दुई दिनका लागि बन्द गरिएको छ । मउ जिल्लाका साथै अलिगढ, मेरठ, सहारनपुर, कासगञ्जलगायतका क्षेत्रमा इन्टरनेट सेवा बन्द गराइएको छ । सामाजिक सन्जालमार्फत अफवाह फैलाइएको भन्दै इन्टरनेट सेवा बन्द गरिएको हो ।

यसैबीच उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले शान्ति कायम गर्न आह्वान गरेका छन् । राज्यका सबै सुरक्षा अधिकारीहरुलाई विदा नबस्न तथा कार्यालय नछोड्न निर्देशन जारी गरिएको छ । मंगलबार एक भिडियो कन्फ्रेन्समार्फत मुख्यमन्त्री आदित्यनाथले सरकारका उच्च अधिकारीहरुलाई नागरिकता संशोधनबारे अफवाह फैलाउनेहरुप्रति निगरानी गर्न निर्देशन दिएका छन् । भारतको लोकसभा र राज्यसभाबाट नागरिकता विधेयक पारित भइसकेको छ ।