नेकपा विवाद समाधानका लागि तयार भए दुई 'सूत्र', कुनमा जाने भन्नेमा छलफल !

नेकपा विवाद समाधानका लागि तयार भए दुई 'सूत्र', कुनमा जाने भन्नेमा छलफल !

काठमाडौं । नौ दिन लामो संवादहीनतापछि बिहीवार नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल 'प्रचण्ड'बीच छलफल भयो ।

प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीले नेकपाको समस्या ५ दिनभित्र हल हुने भनी काउन्टडाउन दिएको भोलिपल्टै प्रचण्ड ओलीलाई भेट्न बालुवाटार पुगेका थिए ।

बिहान ११ बजेबाट शुरू भएको भेट दिउँसो ३ बजेसम्म करीब ४ घण्टा चल्यो ।

अघिल्ला छलफलहरूको तुलनामा यो छलफल निकै सकारात्मक बनेको बालुवाटार स्रोतले जानकारी दियो ।

अध्यक्षद्वयबीच सहमतिको खाका तयार पार्ने जिम्मासहित कार्यदल गठन गर्ने विषयमा छलफल भएको छ । कार्यदल गठन गरेर सबै जिम्मा दिन दुवै अध्यक्ष लगभग सहमत छन् ।

कार्यदलमा विष्णु पौडेल, जनार्दन शर्मा लगायतकै नेताहरू रहने स्रोतको दाबी छ ।

बिहीवारको बैठकमा ओलीले पार्टी उपाध्यक्ष वामदेव गौतमले केही दिनअघि राखेकै ६ बुँदे प्रस्तावको पेरिफेरिमा रहेर प्रस्ताव गरेका थिए ।

आफू अध्यक्ष र प्रधानमन्त्री दुवै रहने तर पार्टी सञ्चालनको पूर्ण अधिकार प्रचण्डलाई दिने उनको प्रस्ताव रहेको स्रोतका दाबी छ ।

आवश्यक परे मन्त्री हेरफेर गर्न र महत्त्वपूर्ण निर्णय तथा नियुक्तिमा पार्टीको निर्णय मान्न पनि ओली सकारात्मक छन् ।

तर, कार्यदल बनाएको खण्डमा स्वतन्त्र ढंगले प्रस्ताव तयार पार्ने सक्ने गरी अधिकार दिन लागिएको स्रोतले बतायो ।

स्रोतका अनुसार नेकपामा सहमतिका लागि २ विकल्पमा विभिन्न चरणमा छलफल चलिरहेको छ ।

के–के हुन् दुई विकल्प ?

नेकपामा सहमतिका लागि छलफलमा रहेको पहिलो विकल्प हो, वामदेव गौतमले पेश गरेको ६ बुँदे प्रस्ताव ।

'वामदेव कमरेडले पेश गरेको सुझावको आसपासमै रहेर सहमति खोज्न सकिन्छ कि भन्ने विषयमा छलफल चलिरहेको छ,' बालुवाटार स्रोतले भन्यो, 'अन्यथा दोस्रो विकल्पमा छलफल हुनेछ ।'

यस्तो छ वामदेवको छ बुँदे :

यद्यपि यो विकल्पमा प्रचण्ड भने त्यत्तिकै सहमत हुने सम्भावना न्यून छ ।

त्यस्तो अवस्थामा दोस्रो विकल्पमा जानुपर्ने हुन्छ ।

दोस्रो विकल्पका रूपमा तत्काल महाधिवेशनमा केन्द्रित हुने र केन्द्रीय समितिले तोकेको चैतकै मितिमा महाधिवेशन गर्ने भन्ने विषयमा छलफल चल्दैछ ।

त्यसका लागि केन्द्रीय कमिटी भंग गरेर महाधिवेशन आयोजक कमिटी बनाइने छ ।

महाधिवेशन आयोजक कमिटीको संयोजकको भूमिका प्रचण्डले निभाउने र ओली सरकार सञ्चालनमा केन्द्रित हुने गरी दोस्रो तहका नेताहरूले प्रस्ताव तयार पारेका छन् ।

प्रचण्डलाई यो विकल्पमा सहमतिमा ल्याउनका लागि भित्र अर्को गोप्य सहमति पनि हुनसक्छ, जुन सार्वजनिक गरिनेछैन ।

आगामी महाधिवेशनमा ओली पक्षले अध्यक्षमा प्रचण्डलाई सघाउने छ । केही समयअघि विचारमा पुगेर अड्किएको गाँठो अब भने फुक्ने सम्भावना बढेको छ ।

ओली पक्षले जनताको जनवादलाई स्वीकार्ने छ, जबजका सार र मूलभूत कुरा त्यसमा भित्र समेटिने छन् ।

महाधिवेशनपछि ओलीका लागि एउटा सम्मानित पद व्यवस्था गरिने छ । वरीयतामा उनी अघि हुनेछन्, तर कार्यकारी भूमिका कुनै पनि हुनेछैन ।

मानार्थ नेता वा सर्वोच्च नेता बनाउने गरी प्रस्तावमा छलफल चलिरहेको स्रोतको दाबी छ ।

आगामी महाधिवेशनमा अध्यक्ष पदमा उम्मेदवारी नदिने ओलीले बताइसकेका छन् ।

जुनसुकै विकल्पमा सहमति भएपनि महाधिवेशनपछिको अवस्थालाई समेत हेरेर वृहत् सहमति गर्नुपर्ने पक्षमा प्रचण्ड छन् ।

पढ्नुहोस्, यो पनि : 

नेकपा विवाद समाधानको 'रामवाण सूत्र' : अध्यक्षको साटो ओलीलाई अर्कै सम्मानित पद !
 

अबको सहमतिमा महाधिवेशनपछिको तस्वीर समेत आउने सम्भावना प्रबल छ ।

कति सार्वजनिक होला, के गोप्य रहला त्यो भने भविष्यकै गर्भमा छ ।

नछुटाउनुस्,

पूर्व माओवादीका यी ५ 'रक्षाकवच' जसले प्रधानमन्त्री ओलीको संकट टार्न भूमिका खेलिरहेका छन् !