एनपीएल: सुदूरपश्चिम रोएल्सलाई चितवन राइनोजले दियो १३० रनको लक्ष्य

एनपीएल: सुदूरपश्चिम रोएल्सलाई चितवन राइनोजले दियो १३० रनको लक्ष्य

काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सोमबार भएको दोस्रो खेलमा चितवन राइनोजले सुदूरपश्चिम रोएल्स जितका लागि १३० रनको लक्ष्य प्रस्तुत गरेको छ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको चितवनले निर्धारित २० ओभरमा छ विकेट गुमाउँदै १२९ रन बनाएको हो।

चितवनका लागि अनुभवी ब्याटर रवि बोपाराले सर्वाधिक ४९ रनको योगदान दिए। चौथो नम्बरमा मैदान प्रवेश गरेका बोपाराले ४० बलको सामना गर्दै तीन चौका र दुई छक्का प्रहार गरे। यद्यपि, उनी आफ्नो अर्धशतक पूरा गर्न केवल एक रन बाँकी छँदा ठूलो सट खेल्ने प्रयासमा आउट हुन पुगे। यसअघि विराटनगर किंग्सविरुद्धको पहिलो खेलमा चितवनको कप्तानी सम्हालेका उनले अविजित ३२ रन जोडेका थिए।

चितवनले सुरुआतमै २७ रन जोड्दा दुई विकेट गुमाइसकेको थियो। त्यसपछि रवि बोपारा र डाविड मालानले तेस्रो विकेटका लागि ३५ रनको साझेदारी गर्दै पारिलाई सम्हाल्ने प्रयास गरे। यस्तै, बोपाराले चौथो विकेटका लागि कप्तान सिकन्दर राजासँग ३२ रनको साझेदारी गरे।

तल्लो क्रममा ब्याटिङमा आएका विवेक कुमार यादवले अन्तिम बलमा रनआउट हुनुअघि १५ बलमा एक चौका र एक छक्काको मद्दतमा १७ रन जोडे। त्यस्तै डाविड मालानले १६ रन बनाए भने अर्जुन साउद र कप्तान सिकन्दर राजाले समान १५–१५ रन जोडे। टम टेलर छ रनमा अविजित रहे।

बलिङतर्फ सुदूरपश्चिम रोएल्सका लागि स्कट कुगेलेइनले दुई विकेट हात पारे भने हेमन्त धामी, कप्तान दीपेन्द्र सिंह ऐरी र अनिल खरेलले समान एक–एक विकेट लिए।