इनमसँग नाम जोडेकोप्रति के भने गगन थापाले ?

इनमसँग नाम जोडेकोप्रति के भने गगन थापाले ?

काठमाडौं । नेपाली कांग्रेसले पार्टी र नेतृत्वविरुद्ध केही सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा प्रकाशित समाचार र लगाइएका आरोपप्रति गम्भीर आपत्ति जनाएको छ।

सभापति गगन थापाको सचिवालयले विज्ञप्ति जारी गर्दै ती समाचारहरू निराधार, कपोलकल्पित र भ्रम फैलाउने उद्देश्यबाट प्रेरित रहेको जनाएको छ।
सरकारका पछिल्ला स्वतन्त्रताविरोधी गतिविधि र घटनाबाट जनताको ध्यान अन्यत्र मोड्न प्रतिपक्षी दलमाथि सुनियोजित रूपमा भ्रम फैलाउने प्रयास भइरहेको दाबी गरिएको छ।

कांग्रेसले पार्टी विधान र प्रचलित कानुनअनुसार विशेष महाधिवेशन सम्पन्न गरेको तथा त्यसबाट नेतृत्व र निर्णयको आधिकारिकतासम्बन्धी विषय निर्वाचन आयोग र अदालतका निर्णयबाट पुष्टि भइसकेको उल्लेख छ।

साथै, संविधान, प्रचलित कानुन, पार्टी विधान र सर्वोच्च अदालतको आदेशका आधारमा हालै सम्पन्न १५औँ महाधिवेशनले पार्टीको संस्थागत प्रक्रियालाई थप सुदृढ बनाएको दाबी गरिएको छ।

कांग्रेसले कुनै पनि प्रकारको निष्पक्ष अनुसन्धानबाट पछि नहट्ने स्पष्ट पार्दै अपुष्ट आरोप, राजनीतिक पूर्वाग्रह र भ्रामक प्रचारका आधारमा कसैलाई आरोपित गर्ने प्रवृत्ति स्वीकार्य नहुने जनाएको छ।

बिचौलियासँग सम्बन्धित विषय र त्यसमा जोडिएका सबै प्रकरणको गहिरो, निष्पक्ष र प्रमाणमा आधारित अनुसन्धान गर्न समेत माग गरेको छ।

बिचौलिया इनम सापकोटामार्फत १८ करोड खर्च गरेर गगनले कांग्रेसको आधिकारिकता प्राप्त गरेको भन्दै केही सञ्चारमाध्यमले. समाचार प्रकाशित गरेका थिए ।