काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनार जोडिएको विवादित अडियो प्रकरणमा थप अनुसन्धान नहुने भएको छ।
अडियोमा सुनिएको आवाज आफ्नो नभएको सांसद सुनारले दाबी गर्नु र पीडित भनिएकी महिलाले समेत हालसम्म कुनै औपचारिक उजुरी नदिएका कारण अनुसन्धान प्रक्रिया अघि बढाउन जटिलता आएको छानबिन समितिका एक सदस्यले जानकारी दिएका छन्।
उक्त अडियो सार्वजनिक भएपछि रास्वपाले गत असोज २७ गते अधिवक्ता हरिचन्द्र भट्टराईको संयोजकत्वमा छ सदस्यीय छानबिन समिति गठन गरेको थियो। समितिमा अधिवक्ता सुशीला सिम्खडा, अधिवक्ता उपेन्द्रनन्दन तिमल्सिना, अधिवक्ता सन्तोष आचार्य, रामचन्द्र कार्की र आईटी विज्ञका रूपमा सन्तोष विसुङ्खे रहेका छन्। समितिले कात्तिक १२ गते सांसद सुनारलाई बोलाएर चार घण्टा लामो बयान लिइसकेको छ।
अडियोको प्राविधिक परीक्षण (फोरेन्सिक परीक्षण) नगर्ने र थप अनुसन्धान आवश्यक नरहेको रायसहित तिहारअघि नै प्रतिवेदन अनुशासन आयोगलाई बुझाउने तयारी समितिले गरेको छ। प्रतिवेदन बुझाइसकेपछि सुनारमाथि कस्तो कदम वा कारबाही अघि बढाउने भन्ने अन्तिम निर्णय पार्टी नेतृत्व र अनुशासन आयोगको अधिकार क्षेत्रभित्र रहने रास्वपा नेताहरूले जनाएका छन्।