काठमाडौं। नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा पक्षले नेपाल विद्यार्थी सङ्घ (नेविसंघ) को अध्यक्षमा पर्वतकी श्रृजना मल्ललाई मनोनीत गरेको छ।
देउवा पक्षद्वारा गठित १५ औँ महाधिवेशन तयारी समितिका संयोजक शशांक कोइरालाले कात्तिक १२ गते मल्ललाई अध्यक्ष पदमा मनोनीत गरेका हुन्। संयोजक कोइरालाले मल्ललाई ६ महिनाभित्र नेविसंघको महाधिवेशन सम्पन्न गर्ने मुख्य जिम्मेवारी दिएका छन्।
यसअघि संयोजक कोइरालाले नेपाल तरुण दलको अध्यक्षमा काभ्रेका दिल लामालाई मनोनीत गरिसकेका छन्।
देउवा पक्षले आगामी मंसिर २१ देखि २३ गतेसम्म १५ औँ महाधिवेशन गर्ने तय गरेको छ। उक्त महाधिवेशन अगावै आफ्ना भ्रातृ संस्थाहरूलाई पूर्णता दिन र संगठन सुदृढ बनाउन अध्यक्ष मनोनयन प्रक्रियालाई तीव्रता दिइएको छ।