काठमाडौँ । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले देश ठूलो संकटतिर उन्मुख भइरहेको संकेत गरेको दाबी गरेका छन्। उनले सामाजिक सञ्जालमार्फत अब कुनै पनि बहानामा देशले अस्थिरता र उथलपुथल थेग्न नसक्ने बताएका हुन्।
उनले देशमा बढ्दो भूराजनीतिक चलखेलको पृष्ठभूमिमा सत्ताधारी र प्रतिपक्षी दलहरूभित्रै चर्कदो अन्तरसंघर्ष रहेको बताए। अर्थतन्त्रको निरन्तर ओरालो यात्रा, सार्वजनिक सञ्चारक्षेत्र र नागरिक वृत्तमा निराशा बढिरहेको बताउँदै उनले अब कुनै पनि बहानामा देशले अस्थिरता र उथलपुथल थेग्न नसक्ने स्पष्ट पारे।
‘देशमा बढ्दो भूराजनीतिक चलखेलको पृष्ठभूमिमा सत्ताधारी र प्रतिपक्षी दलहरूभित्रै चर्कदो अन्तरसंघर्ष, राज्यका प्रमुख अंगहरू न्यायालय/प्रशासन/प्रहरी लगायतमा अस्तव्यस्तता,अर्थतन्त्रको निरन्तर ओरालो यात्रा,थपिँदै प्राकृतिक प्रकोपको भार, युवाहरूको निरन्तर विदेश पलायन, सार्वजनिक संचारक्षेत्र र नागरिक वृत्तमा चुलिंदो निराशा, आदिले देश ठूलो संकटतिर उन्मुख भैरहेको संकेत गर्छ। ‘ उनले भनेका छन्, ‘अब कुनै पनि बहानामा देशले अस्थिरता र उथलपुथल थेग्न सक्दै सक्दैन।’
पूर्वप्रधानमन्त्री भट्टराईले सबै आआफ्नो क्षेत्रबाट गम्भीर बन्न आग्रह गरे। उनले भनेका छन्, ‘सक्छौं, सकारात्मक योगदान गरौं! सक्दैनौं, नकारात्मक काम नगरौं।’