काठमाडौं। सत्ता साझेदार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सञ्चारगृहमै पुगेर पत्रकार तथा सञ्चारकर्मीमाथि गरिएको सोधपुछ, धरपकड र पक्राउका घटनाबारे छानबिन गरी दोषीलाई कारबाही गर्न सरकारलाई कडा निर्देशन दिएको छ।
शनिबार बसेको पार्टीको सचिवालय बैठकका निर्णयहरू सार्वजनिक गर्दै प्रवक्ता जगदीश खरेलले समाचार कक्ष (न्यूज रुम) मै पुगेर पत्रकारमाथि गरिएको धरपकड सर्वथा गलत रहेको बताए।
“राष्ट्रिय स्वतन्त्र पार्टी संविधानले दिएको मौलिक अधिकारका रूपमा रहेको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता, विधिको शासन र मानव अधिकारको सम्मान गर्दछ। प्रेस स्वतन्त्रताका विषयमा रास्वपा कसैसँग पनि सम्झौता गर्दैन,” प्रवक्ता खरेलले भने।
पत्रकारमाथि कसले, किन र कसरी धरपकड गर्यो भन्ने विषयमा निष्पक्ष छानबिन गरी दोषीलाई ढिलासुस्ती नगरी शीघ्र कारबाहीको दायरामा ल्याउन र आगामी दिनमा समाचार लेखेकै आधारमा कुनै पनि सञ्चारकर्मीले यस्तो अवस्था भोग्न नपर्ने वातावरण मिलाउन सरकारलाई निर्देशन दिइएको उनले जानकारी दिए।
बैठकमा मधेस प्रदेश र जिल्लाहरूमा देखिएका पार्टीका आन्तरिक समस्याबारे सहमहामन्त्री हरिलाल नेतृत्वको कार्यदलले बुझाएको प्रतिवेदन अध्ययनका लागि पेस भएको र त्यसैका आधारमा आगामी कदम चालिने बताइएको छ।
साथै, चिनियाँ कम्युनिष्ट पार्टीको निमन्त्रणामा रास्वपा महामन्त्री विपिन आचार्यको नेतृत्वमा प्रतिनिधिमण्डल छिट्टै चीन भ्रमणमा जाने निर्णयसमेत सचिवालय बैठकले गरेको छ।