सरकार नियन्त्रणमुखी बाटोमा अघि बढ्यो: सह-महामन्त्री शिवाकोटी

सरकार नियन्त्रणमुखी बाटोमा अघि बढ्यो: सह-महामन्त्री शिवाकोटी

काठमाडौं।  नेपाली कांग्रेसका सह-महामन्त्री अजयबाबु शिवाकोटीले वर्तमान सरकार लोकतन्त्रका आधारभूत मूल्य–मान्यताविपरीत नियन्त्रणमुखी बाटोमा अघि बढिरहेको आरोप लगाएका छन्।

शनिबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै उनले नागरिकको अभिव्यक्ति स्वतन्त्रता, प्रेस स्वतन्त्रता, विधिको शासन, स्वतन्त्र न्यायपालिका र राज्यका संस्थाहरूको स्वायत्ततामाथि सरकारले नियन्त्रण स्थापित गर्न खोजेको बताए।

लोकतन्त्रलाई आवधिक निर्वाचन, बहुमतको सरकार र सत्ता हस्तान्तरणमा मात्र सीमित गर्न नहुने उल्लेख गर्दै शिवाकोटीले यसको वास्तविक शक्ति नागरिक स्वतन्त्रता र राज्यका निकायहरूको स्वायत्ततामा निहित रहने स्पष्ट पारे। राज्यका संवैधानिक तथा सार्वजनिक संस्थाहरूले संस्थागत मर्यादा र विश्वसनीयता गुमाउँदै जानु लोकतन्त्रका लागि खतरा भएको बताउँदै उनले यसलाई विद्वान् फ्रान्सिस फुकुयामाले भनेजस्तै ‘डेमोक्रेटिक ब्याकस्लाइडिङ’ (लोकतान्त्रिक अवनति) का रूपमा टिप्पणी गरे।

सरकारको पछिल्लो व्यवहार नागरिक अधिकार कुण्ठित गर्ने दिशातर्फ उन्मुख रहेको आरोप लगाउँदै उनले पूर्वप्रधानन्यायाधीशलाई राति घरबाट उठाउने, पत्रकारहरूलाई न्युजरुममै पुगेर नियन्त्रणमा लिने र व्यवसायीहरूमाथि धरपकड तथा खानतलासी गर्ने कार्य चिन्ताजनक रहेको बताए।

न्यायालय, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, प्रहरी प्रशासन र मिडियाजस्ता राज्यका प्रमुख निकायहरूलाई सरकारले आफ्नो नियन्त्रणमा राख्न खोजेको बताउँदै उनले सरकारको आलोचना गर्नेहरूलाई विभिन्न संयन्त्र प्रयोग गरी तर्साउने र धम्क्याउने काम भइरहेको दाबी गरे।

साथै, उनले प्रधानमन्त्रीका सल्लाहकारले आलोचना गर्नेहरूलाई नियन्त्रणमा लिन आदेश दिने तर विरोध भएपछि अर्कै निकायले पन्छिने प्रवृत्तिप्रति औँल्याउँदै प्रहरी, गृहप्रशासन र प्रधानमन्त्रीका सल्लाहकारहरूबीचको जिम्मेवारी तथा जवाफदेहितामाथि गम्भीर प्रश्न उठाए।