काठमाडौं। उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले समाचार लेखेकै आधारमा सञ्चारमाध्यम र पत्रकारमाथि धरपकड, हस्तक्षेप तथा दमन गर्नु लोकतान्त्रिक मूल्य–मान्यताविपरीत भएको बताएका छन्।
शुक्रबार एक विज्ञप्ति जारी गर्दै अध्यक्ष घिसिङले प्रेस स्वतन्त्रतामाथिको दमन लोकतन्त्रमाथिकै प्रहार भएको टिप्पणी गरे। नेपालको संविधानले विचार तथा अभिव्यक्तिको स्वतन्त्रता, सञ्चारको हक र सूचनाको हकलाई नागरिकको मौलिक अधिकारका रूपमा सुनिश्चित गरेको स्मरण गराउँदै ती अधिकारहरू सरकारको इच्छा वा निगाहमा निर्भर नरहने उनले स्पष्ट पारेका छन्।
झन्डै दुई तिहाइ जनमतको समर्थन प्राप्त निर्वाचित सरकारले संविधानको संरक्षण, लोकतान्त्रिक मूल्य–मान्यताको संवद्र्धन र नागरिक अधिकारको सुनिश्चितता गर्नुपर्नेमा समाचार लेखेकै आधारमा पत्रकारलाई पक्राउ गर्ने, सञ्चारगृहमा प्रवेश गरी नियन्त्रणमा लिने तथा दबाब सिर्जना गर्ने कार्यप्रति उनले कडा आपत्ति जनाएका छन्।
सरकारका कामकारबाहीमाथि प्रश्न उठाउनु, सत्ताको निगरानी गर्नु, सत्यतथ्य सार्वजनिक गर्नु र नागरिकलाई सुसूचित गराउनु पत्रकारिताको मूल जिम्मेवारी भएको बताउँदै घिसिङले पत्रकारितालाई अपराधका रूपमा चित्रित गर्ने वा आलोचनात्मक आवाज दबाउने प्रवृत्तिले लोकतान्त्रिक अभ्यासलाई नै कमजोर बनाउने उल्लेख गरे।
"आलोचनालाई शत्रु ठान्ने, असहमतिलाई निषेध गर्ने र प्रश्न उठाउने आवाज दबाउने प्रवृत्तिले लोकतन्त्रलाई बलियो बनाउन सक्दैन," घिसिङले विज्ञप्तिमा भनेका छन्, "सरकार जतिसुकै शक्तिशाली भए पनि संविधानभन्दा माथि हुन सक्दैन। बहुमतले शासन गर्ने अधिकार दिन्छ, नागरिकका मौलिक अधिकार कुण्ठित गर्ने छुट दिँदैन।" उनले लोकतन्त्रको शक्ति सरकारको बहुमतमा मात्र नभई नागरिक स्वतन्त्रता, विधिको शासन र जवाफदेहितामा निहित हुने कुरामा जोड दिएका छन्।
स्वतन्त्र प्रेस लोकतन्त्रको पहरेदार भएको उल्लेख गर्दै उनले पत्रकारको कलम रोक्दैमा सत्य नरोकिने र प्रश्न दबाउँदैमा सरकार जवाफदेहिताबाट उम्किन नसक्ने बताए। घिसिङले प्रेस स्वतन्त्रतामाथि भइरहेका सबै प्रकारका हस्तक्षेप, धरपकड र दमन तत्काल रोक्न सरकारसँग माग गरेका छन्। साथै, पक्राउ परेका पत्रकारको कानुनी अवस्था सार्वजनिक गर्न, उनीहरूको संविधानप्रदत्त अधिकार सुनिश्चित गर्न र स्वतन्त्र एवं निर्भीक पत्रकारिताका लागि सुरक्षित वातावरण निर्माण गर्न पनि उनले आग्रह गरेका छन्।