काठमाडौं । न्यायपालिकाको सर्वोच्च निकायका न्यायमूर्तिहरूमाथि फेरि एकपटक गम्भीर नैतिक प्रश्न उठेको छ। देशको सर्वोच्च न्यायालयको नेतृत्व गरिरहेका प्रधानन्यायाधीश र न्यायाधीशको नाम बिचौलियासँग जोडिएपछि न्यायमूर्तिहरू स्वयं नैतिकताको कसीमा उभिएको विषय सार्वजनिक भएको छ।
यस प्रकरणमा न्यायमूर्तिहरू मात्र नभई सत्तारूढ दलका सांसद तथा पूर्वएआइजी विश्वराज पोखरेलको नामसमेत जोडिएको छ। प्रहरी हिरासतमा रहेका बिचौलिया भनिएका इनम सापकोटाको मोबाइल डेटाबाट प्रधानन्यायाधीश डा. मनोजकुमार शर्मा र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद पोखरेलको नाममा अमेरिका र नेपालका बैंकहरूमा घुस रकम जम्मा गर्ने गरिएको गम्भीर प्रमाण फेलापरेको दाबी गरिएको छ।
यसैगरी, सर्वोच्च अदालतका न्यायाधीश हरिप्रसाद फुँयाल र बिचौलिया सापकोटाबीच भएको ह्वाट्सएप संवादमार्फत विवादास्पद कारोबारी समूहका रोहित गुप्तालाई दुई करोड रुपैयाँ धरौटी मागेको विषय र हिमालयन होटलमा भेट्ने प्रस्ताव गरिएको कुरा समेत बाहिर आएको छ।
विचाराधीन मुद्दामा बिचौलियासँग न्यायाधीशको संवाद र होटलमा भेटघाट तय गर्नुलाई न्यायिक आचरणविपरीत गतिविधिका रूपमा हेरिएको छ। सर्वोच्च न्यायालय नागरिकले आफूलाई परेको अन्यायविरुद्ध न्याय खोज्ने अन्तिम आश्रयस्थल भएकाले विचाराधीन मुद्दाका विषयमा न्यायाधीश र विवादास्पद पृष्ठभूमिका व्यक्तिबीच संवाद भएको विवरण बाहिरिनुले न्यायिक निष्पक्षतामाथि गम्भीर प्रश्न खडा गरेको छ। यद्यपि, प्रधानन्यायाधीश शर्मा र न्यायाधीश फुँयाल दुवैले आफूमाथि लागेको आरोपलाई पूर्ण रूपमा अस्वीकार गर्नुभएको छ। सांसद पोखरेलले पनि आफूले सापकोटालाई नचिनेको र उनीसँग कुनै किसिमको सम्बन्ध नरहेको दाबी गर्नुभएको छ। यता, नेपाल प्रहरीले अनुसन्धानसँग सम्बन्धित सामग्री सञ्चार माध्यममा सार्वजनिक भएको विषयमा विज्ञप्ति जारी गर्दै अनुसन्धानको गोपनीयता र निष्पक्षता कायम राख्नुपर्ने स्पष्ट पारेको छ र प्रकाशित विवरणको आधिकारिकता पुष्टि गर्न आग्रह गरेको छ।
थुनामा रहेका बिचौलिया भनिएका सापकोटाको मोबाइलबाट प्राप्त विवरणका आधारमा प्रधानन्यायाधीश शर्मा र न्यायाधीश फुँयालसँग सम्बन्धित फरक-फरक विवरणहरू बाहिर आएका छन्। नयाँ पत्रिका दैनिक र दियोपोस्ट अनलाइनमार्फत सार्वजनिक छुट्टाछुट्टै विवरणमा प्रधानन्यायाधीश शर्मा र रास्वपा सांसद पोखरेलको नाम जोडेर रकम जम्मा गर्न भनिएको उल्लेख छ। सापकोटाको मोबाइलमा रहेको विवरणमा प्रधानन्यायाधीश शर्मा, सांसद पोखरेल र सशस्त्र प्रहरीका तत्कालीन अतिरिक्त महानिरीक्षक वंशीराज दाहालको नाम उल्लेख गरिएको छ।
रकम जम्मा गर्न अमेरिकामा रहेको बैंक अफ अमेरिकामा सापकोटाका नातेदार नीराजन पाण्डेको खाताको विवरण दिइएको समाचारमा जनाइएको छ। नेपालमा रकम जम्मा गर्नुपर्ने भएमा सानिमा बैंकमा रहेको कविता पाण्डेको खातामा रकम जम्मा गर्ने विकल्प पनि उल्लेख गरिएको पाइएको छ।
रकमको विवरण तलतिर मनोजकुमार शर्मा (चिफ जस्टिस), ओखलढुंगाबाट निर्वाचित सांसद तथा पूर्वएआइजी विश्वराज पोखरेल र सशस्त्र प्रहरीका एआइजी वंशीराज दाहालको नाम उल्लेख रहेको छ। म्यासेजमा पठाइएको विवरणमा रकम जम्मा गर्ने दुईवटा विकल्पहरू दिइएको छ। अमेरिकामा डिपोजिट गर्ने भएमा बैंक अफ अमेरिकामा नीराजन पाण्डेको नाममा सात हजार पाँच सय अमेरिकी डलर डिपोजिट गर्न भनिएको छ। नेपालमा डिपोजिट गर्ने भएमा सानिमा बैंकमा रहेको कविता पाण्डेको खातामा अमेरिकी डलर सात हजार पाँच सय बराबर हुने नेपाली रकम जम्मा गर्न भनिएको छ।
इनमसँगको सूचना आदानप्रदान गरेको आरोपमा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक वंशीराज दाहाललाई सरकारले बर्खास्तसमेत गरिसकेको छ। पूर्व-प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई नियन्त्रणमा लिएर उपत्यका अपराध अनुसन्धान कार्यालय पुर्याएका बेला दाहाल राति नै भेट्न पुगेका थिए भन्ने विषय पनि बाहिर आएको छ।
न्यायाधीश फुँयालसँग सम्बन्धित प्रकरण भने विचाराधीन मुद्दाको विषयमा भएको संवादसँग जोडिएको छ। सार्वजनिक गरिएको ह्वाट्सएप विवरणअनुसार, सापकोटाले रोहित गुप्ताको बन्दी प्रत्यक्षीकरणसम्बन्धी निवेदनको स्क्रिनसट पठाउँदै उनलाई थुनामै राख्न र निवेदन खारेज गर्न आग्रह गरेका थिए। सापकोटाले त्यसक्रममा प्रधानमन्त्रीको पनि चासो रहेको दाबी गरेका थिए। त्यसपछि उनले 'गुड मर्निङ' भन्दै यसलाई रोक्नु, यसमा प्रधानमन्त्रीको पनि चासो छ, खारेज नै गर्दिनुहोला भनेर म्यासेज गरेका थिए।
लगत्तै उनले ह्वाट्सएपमा फोन गरेका थिए। उक्त फोन नउठेपछि फुँयालले जवाफी सन्देश लेखेको देखिन्छ। सापकोटाको मिसड कलको जवाफ दिँदै न्यायाधीश फुँयालले मैले यो ढिलो देखेँ, उनलाई (रोहित गुप्ता) छाड्नुपर्ने आधारै रहेछ, हामीले उनलाई दुई करोड धरौटी मागेका छौँ र गोल्छालाई (शेखर गोल्छा) एक करोड मागिएको रहेछ भनी लेख्नुभएको छ। गुप्तालाई धरौटीमा छाड्ने आदेश राखिएको सर्वोच्चको वेबसाइटको लिंक पनि उहाँले सापकोटालाई म्यासेज गर्नुभएको छ। त्यसपछि फुँयालले भोलिपल्ट हिमालयन होटलमा भेट्ने प्रस्ताव गर्नुभएको छ जसमा जवाफ दिँदै सापकोटाले हुन्छ भनेका छन्।
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले दायर गरेको मुद्दामा विशेष अदालतले गुप्तालाई पुर्पक्षका लागि थुनामा पठाएको थियो। त्यसविरुद्ध सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको निवेदन परेको थियो। न्यायाधीश फुँयाल र श्रीकान्त पौडेलको संयुक्त इजलासले भदौ १७ गते गुप्तालाई दुई करोड रुपैयाँ धरौटीमा छाड्ने आदेश दिएको थियो। यो विवाद विशेष अदालत हुँदै सर्वोच्च पुगेको थियो। विशेष अदालतमा सम्पत्ति शुद्धीकरण विभागले फिक्सर दीपक भट्ट समूहविरुद्ध मुद्दा दायर गरेको थियो भने विशेषले साउन २८ गते गुप्तालाई पुर्पक्षका लागि थुनामा पठाएको थियो।
बिचौलिया भनिएका सापकोटा हाल प्रहरी थुनामा रहेका छन्। यी दुवै विवरण सापकोटाको मोबाइल नियन्त्रणमा लिएपछि सार्वजनिक भएको देखिन्छ। पूर्व–प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई सुरक्षा दिने भन्दै असोज ११ गते प्रहरीले घरबाटै नियन्त्रणमा लिएपछि न्यायालयभित्र विभिन्न विवादहरू बाहिर आएका छन्। बिचौलिया इनम सापकोटालाई पनि असोज ११ गते नै पक्राउ गरिएको थियो। सापकोटा र उच्च पदस्थ अधिकारीहरूबीच भएको भनिएको कुराकानीका आधारमा नेपाल प्रहरीले अहिले यस विषयमा सूक्ष्म अनुसन्धान गरिरहेको जनाएको छ।